Logo

छापा मार्दा कालो बजारीको आठ लाख मास्क भेटिएपछि…



काठमाडौं, ३ चैत्र । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज विहानै छापा मारेर कालो बजारीका आठ लाख मास्क बरामद गरेको छ । चन्द्रागिरी नगरपालिकाको सतुंगलबाट १८० बोरामा राखिएका आठ लाख मास्क बरामद भएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जनकराज दाहालका अनुसार कालोबजारीको सूचनाका आधारमा छापा मारिएको हो । प्रशासन र प्रहरीसहितको टोली छापा मार्न पुगेको थियो ।

काठमाडौं उपत्यकामा कालोबजारी बढेको सूचनाका आधारमा धमाधम छापा मार्ने क्रम बढेको हो । मास्कको मूल्य दश गुनासम्म बढीमा विक्रीवितरण गर्न थालेपछि प्रहरी र प्रशासनले धमाधम छापा मारेको हो ।

जिल्ला प्रशासन कार्यालयका काठमाडौंका प्रमुख दाहालले कालोबजारी कसैलाई नछाड्ने बताए । अप्ठ्यारो परेको बेलामा कालोबजारी गर्नेलाई कडा कारबाहीको चेतावनी दिए । टिम नै परिचालन गरी कारबाही बढाइएको बताए ।

कोरोना भाइरसको नाममा देशभित्र कालोबजारी बढेपछि प्रशासन र प्रहरीले धमाधम छापा मार्न थालेको हो । उत्पादन मूल्य दुई रुपैयाँ प्रति गोटा पर्ने मास्क सामान्यतयाः पाँच रुपैयाँले विक्रीवितरण हुँदै आएको थियो । तर, कोरोना भाइरसको संक्रमण विश्वभर बढेपछि ५० रुपैयाँ प्रतिगोटामा विक्रीवितरण गरेर कालोबजारी हुँदै आएको छ । मास्कको कालोबजारी गरेर करोडौं कमाउने गिरोह सक्रिय भइरहेको छ । उपभोक्ताले यसबारे चासो देखाएपछि प्रशासन सक्रिय भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot