Logo

ग्यास तथा पेट्रोलियम पदार्थ थुपार्न थालेपछि आयात बढ्यो



काठमाडौं, चैत ३ । कोरोना भाइरसको बहाना बनाएर उपभोक्ताले ग्यास तथा पेट्रोलियम पदार्थ थुपार्न थालेपछि नेपाल आयल निगमले ग्यास लगायत पेट्रोलियम पदार्थको अभाव नभएको प्रस्ट पारेको छ। आइतबार संसद्को उद्योग तथा वाणिज्य र उपभोक्ता तथा श्रम समितिमा बोल्दै निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले केही दिनयता पहिलाको तुलनामा ग्यास आयात बढोत्तरी गरिएको जानकारी दिए।

फेब्रवरी महिनामा निगमले ४१ हजार एक सय १५ मेट्रिक टन ग्यास ल्याएको जनाएको छ। तीन महिनाअघि ३६ हजार मेट्रिक टन हाराहारीमा ग्यास आउने गरेको थियो। ‘पछिल्लो तीन महिना र त्यसअघिका महिनाबीच तुलना गर्दा यतिखेर खाना पकाउने एलपी ग्यासको ढुवानी बढेको छ,’ उनले भने, ‘केही उपभोक्ताले अनावश्यक रूपमा ग्यास थुपार्न खोज्दा अभाव जस्तो देखिएको हो।

ढुवानीमा कुनै समस्या छैन।’ उनका अनुसार आइतबार मात्र रक्सौल नाकाबाट ८६ बुलेट ग्यास भित्रिएको छ। एउटा बुलेटमा एक हजार दुई सय ५० थान ग्यास सिलिन्डर हुन्छ। देशमा भित्रिने ग्यासमध्ये ४५ प्रतिशत उपत्यका र बाँकी उपत्यकाबाहिर खपत हुने गर्छ। निगमको आग्रह अनुसार भारतले पहिलाको भन्दा बढी ग्यासको लोड गरिरहेको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्