Logo

कोरोनाको सम्भावित जोखिमसँग जुध्न २२० आइसीयु बेड, देशभरका स्वास्थ्यकर्मी तयारी अवस्थामा



काठमाडौं, ३ चैत्र । सरकारले कोरोना भाइरसको जोखिमसँग जुध्न आवश्यक तयारी गरेको छ । त्यसका लागि देशभर २२० वटा आइसीयु बेड तयार गरिने भएको छ । देशभरका स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको छ ।

कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले उपत्यकाभित्र १२० र बाहिर एक सय आइसीयु बेड तयार पार्ने निर्णय गरेको हो । उपत्यकाभित्र टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, कीर्तिपुर आयुर्वेद अस्पताल, नेपाल प्रहरी, नेपाली सेना, वीर अस्पताल र पाटन अस्पताल प्रत्येकमा २० वटा आइसियु बेड तयार गरिनेछ । उपत्यका बाहिर प्रत्येक प्रदेशमा आइसीयु बेड कम्तिमा १५ वटा बेड तयार गरिने योजना बनाइएको छ ।

उपत्यकामा एक हजार आइसोलेटेड बेड बनाउने तयारी समेत गरिएको बुझिएको छ । कीर्तिपुर आयुर्वेदिक अस्पतालमा दुई सय, खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा २२०, टेकु अस्पतालमा एक सय, पाटन अस्पतालमा ७०, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रत्येकमा एक सयवटा, भक्तपुर तेलकोटस्थित खानेपानी कार्यालयमा ६० र इचंगुनारायणस्थित सुकुम्बासी आवासमा २८० वटा आइसोलेटेड बेड बनाइने तय गरिएको छ ।

देशभरका स्वास्थ्यकर्मीलाई सम्भावित जोखिममा तयारी अवस्थामा रहन भनिएको छ । कसैलाई पनि बिदा नलिन परिपत्र जारी गरिसकिएको छ । कोरोना भइहालेमा चेकजाँचमा खटिएका स्वास्थ्यकर्मीले भत्ता पाउनेछन् ।

सरकारले २० हजार थान सेफ्टी किट, दश हजार थान डाइग्नोस्टिक किट र एक हजार थान थर्मल खरिद गर्ने निर्णय समेत गरेको छ । विमानमा उत्रने र उड्ने यात्रुहरुको स्क्यान गर्ने देखि सीमा नाकामा समेत कडाई गर्ने निर्णय लिएको छ ।

कोरोनाबाट कुनै व्यक्तिको मृत्यु भएमा सञ्चयकोषका बचतकर्ताका परिवारले रु १० लाख पाउने व्यवस्थाका लागि कोरोना भाइरसलाई कडा रोगको सूचीमा राखिएको छ ।-Photo: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्