Logo

‘ग्यास लुकाए हस्तक्षेप’



काठमाडौँ, ४ चैत । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारमा एलपी ग्यास सहज नबनाए सेना र प्रहरी लगाएर वितरण गरिने बताएको छ । दैनिक मागभन्दा बढी आयात हुँदा पनि बजारमा ग्यास नपाइएको भन्दै उनले ग्यास उद्योगी र नेपाल आयल निगमका प्रतिनिधिलाई सोमबार मन्त्रालयमा बोलाएर उक्त चेतावनी दिएको हो ।

सो अवसरमा मन्त्री भट्टले व्यवसायीहरूको नाफा सरकारले तोकिदिएको चर्चा गर्दै सङ्कटको फाइदा उठाएर कालोबजारीको प्रयास नगर्न व्यवसायीहरूलाई आग्रह गरेको छ । उनले भने, “मेरो आग्रह छ, अहिले उपभोक्ताको जुनसुकै सिलिन्डर पनि साटिदिनुहोस्, विश्वव्यापी सङ्कटका बेला नाफा, घाटा नहरौँ, राज्यलाई सहयोग गर्नुहोस् अन्यथा हस्तक्षेप हुन्छ ।” मन्त्री भट्टले तत्काल ग्यास सहज नबनाए डिलरलाई कारबाहीसमेत गरिने बताएको छ । नेपाल आयल निगमले आयात बढाइएको, वितरण पनि नियमित भएको तर उपभोक्ताले ठूलो परिमाणमा मौज्दात राख्दा समस्या रहेको तर केही दिनमै सहज हुने जनाएको छ । कोरोना भाइरसको त्रासले नभई होलीका अवसरमा नियमित आपूर्ति नहुँदा समस्या भएको ग्यास उद्योगीहरूले जनाएका छन् ।

“ग्यास ढुवानी मजदुर होली मनाउन गएपछि झन्डै एक हप्ता आपूर्ति खल्बलिएको र एक हप्तामा जतिसुकै माग बढे पनि सामान्य हुन्छ,” नेपाल एलपी ग्यास उद्योग सङ्घले जनाएको छ । नेपाल आयल निगमले भने कोरोना भाइरसको त्रासले ग्यास अभाव हुन्छ कि भन्ने आशङ्काले सिलिन्डर मौज्दात राख्दा समस्या भएको जनाएको छ तर मागभन्दा बढी नै आपूर्ति गरिएको हुँदा दुई÷चार दिनमै सामान्य अवस्था हुने निगमको दाबी छ ।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगड, वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्याल, वाणिज्य तथा आपूर्ति विभाग, नेपाल आयल निगम र ग्यास उद्योगीहरूको सहभागिता थियो । (गोरखापत्र दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्