Logo

माथिल्लो तामाकोसी आयोजना बाँध र डिस्यान्डर बेसिन परीक्षण



काठमाडौँ, ४ चैत । दोलखाको बिगु गाउँपालिका–१, लामाबगरमा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाँध तथा डिस्यान्डर बेसिनको परीक्षण सुरु भएको छ ।

सोमबारबाट सुरु गरिएको परीक्षण न्यूनतम आठ दिनसम्म गर्नुपर्ने भए तापनि निरन्तर आगामी २२ गतेसम्म गरिने तालिका बनेको आयोजना प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिएका छन् । उनका अनुसार पहिलो दिन अर्थात् सोमबार बाँधमा चार मिटर पानी जम्मा गरिनेछ । त्यसपछि क्रमशः दुई/दुई मिटर प्रतिदिन पानी थप्दै लगिने छ । हरेक गेट बन्द गरेर बाँधमा पानी जम्छ कि जम्दैन परीक्षण गरिन्छ । बाँध, गेट र इन्टेक समेतका संरचनाले काम गरे नगरेको पनि थाहा हुन्छ । बाँधको परीक्षणपछि बालुवा थिग्य्राउने पोखरी (डिस्यान्डर)मा पानी भरेर परीक्षण गरिन्छ । आयोजनाको बाँधको दायाँतिरको भाग गत २०७२ वैशाखको भूकम्पले १७ इञ्च भासिएको छ । यसरी भासिएपछि अमेरिकाबाट विशेषज्ञ समेत झिकाएर अध्ययन गराइएको थियो ।

विशेषज्ञको सुझाव अनुसार बाँधमा ग्राउटिङ प्रविधि अपनाएर मर्मत गरिएको थियो । बाँधको ६० मिटर लम्बाइ र २२ मिटर उचाइ रहेको छ । बाँधको सतहमुनि सात मिटर र त्यसभन्दा माथि १५ मिटर उचाइ छ । ६० मिटर लम्बाइमा डिस्यान्डरमा जाने चारवटा गेट रहेका छन् भने नदीको पानी बाहिर पठाउन चारवटा गरी आठवटा गेट रहेका छन् । आयोजनामा दुई सय मिटर लम्बाइका दुईवटा डिस्यान्डर बेसिन रहेका छन् । दुवैमा पालैपालो पानी भरेर परीक्षण गर्न लागिएको आयोजनाका प्रवक्ता डा. न्यौपानेले जानकारी दिएका छन् । (गोरखापत्र दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्