Logo

कोरोना प्रभावितलाई सरकारले संरक्षण गर्छ



काठमाडौं, ४ चैत । अर्थमन्त्री युवराज खतिवडाले कोरोना भाइरस (कोभिड–१९) ले मुलुकको प्रभाव पार्ने क्षेत्रलाई सरकारले संरक्षण गर्ने बताएका छन्। अर्थमन्त्रीले विगतमा सशस्त्र द्वन्द्वदेखि भूकम्प र नाकाबन्दीजस्ता समस्यासँग सरकार जुधेको अनुभव भएको बताउँदै कोरोना समस्यासँग पनि नीति बनाएरै जुध्ने जानकारी दिए।

नागरिक दैनिकले ‘नेपालको अर्थतन्त्रमा कोरोना भाइरसको प्रभाव’ बारे सोमबार गरेको साक्षात्कारमा अर्थमन्त्री खतिवडाले भने, ‘सरकारले विभिन्न क्षेत्रका उद्योगी, व्यवसायी तथा रुग्ण उद्योगलाई समस्या पर्दा आवश्यक नीति बनाएर सम्बोधन गर्दै आइरहेको छ। यसअघि पर्यटन क्षेत्र समस्यामा पर्दा तथा रुग्ण उद्योगलाई नीति बनाएरै उद्धार गरेका थियौं। अहिले पनि कोरोनाबाट वास्तविक समस्यामा पर्ने उद्योगी, व्यवसायीलाई संरक्षण गर्न सरकार तयार छ।’

सरकारले कर फिर्तालगायतका कार्यक्रम ल्याएर भए पनि व्यवसायीको समस्या सम्बोधन गर्र्ने जानकारी अर्थमन्त्रीले दिए। ‘निर्यातमा सहुलियत दिने हाम्रो नीति नै छ। जहाँ–जहाँ व्यवसायीलाई समस्या भएको छ, त्यही ठाउँका व्यवसायीलाई सहयोग गर्ने नीति अवलम्बन गर्नेछौं’, मन्त्री खतिवडाले भने, ‘अहिले ब्याज अनुदानसमेत दिनेछौं। बैंकको ब्याज अनुदान दिने क्षेत्र पनि तोकेका छौं।’

खतिवडाले राष्ट्रबैंकलाई पनि लचकता अपनाएर अघि बढ्न आवश्यक निर्देशन दिइसकेको बताए। ‘हामी अहिलेको अवस्थामा ‘पेनिक’ नबनौं। अहिले पर्ख र हेरको रणनीतिमा छौं,’ उनले भने, ‘असर परेको क्षेत्रमा मूल्यांकन गरेर निजी क्षेत्रलाई गर्नुपर्ने सहयोग गर्न तयार छौं।’ (नागरिक दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्