Logo

मधेश नाम पनि अस्वीकृत



जनकपुर, ४ चैत्र । प्रदेश २ को नाम मधेश राख्ने प्रस्ताव अस्वीकृत भएको छ । प्रस्तावको पक्षमा बहुमत पुगेपनि दुई तिहाई नपुगेकाले अस्वीकृत भएको हो ।

आज भएको मतदानमा चार प्रस्तावमाथि मतदान हुँदा सबै अस्वीकृत भएका थिए । अन्तिममा मधेश प्रस्तावमा मतदान हुँदा ६० मत पर्यो । दुई तिहाईका लागि ७२ मत आवश्यक भएपनि पुग्न नसकेपछि अस्वीकृत भयो । मधेश नाममा समाजवादी पार्टी र राजपासहित अन्य दलका सांसदको समेत मत परेको थियो । समाजवादी र राजपाको ५५ मत छ । बाँकी पाँच मत अन्य दलको परेको थियो ।

यसअघि आजैको मतदानमा जानकी, मिथिला भोजपुरा र मध्य मधेश प्रदेश नाम राख्ने प्रस्ताव अस्वीकृत भएको थियो । मिथिला भोजपुराको पक्षमा २८ मत र विपक्षमा ७९ मत परेको थियो । यो प्रस्ताव नेपाली काँग्रेसले दर्ता गराएको थियो । काँग्रेसको १९ सांसद रहेपनि अन्य पार्टीका ९ सांसदले यसको पक्षमा मतदान गरेका थिए ।

नेपाल कम्युनिस्ट पार्टीले दर्ता गराएको जानकी प्रदेशको पक्षमा ३७ र विपक्षमा ७० मत परेको थियो । मध्य प्रदेशको नाममा ४२ मत प्राप्त गरेको छ । राजधानीबारे सहमति जुटेपनि नामबारे सहमति नबन्दा टुंगो लाग्ने सम्भावना न्यून छ ।

दुई तिहाई बहुमत आवश्यक पर्ने भएपनि कुनै दलको पनि बहुमत छैन । सत्तारुढ समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीको बहुमत भएकाले मिलेर सरकार चलाइरहेका छन् । दुवै पार्टी मधेश नाम राख्न सहमत छन् । तर, उनीहरुसँग बहुमत मात्र छ । समाजवादी पार्टीसँग ३० र राजपासँग २५ सिट छ । दुवैको जोड्दा ५५ सिट छ ।

नेपाल कम्युनिस्ट पार्टीको ३२ सिट छ । नेपाली काँग्रेसको १९ र संघीय समाजवादीको एक सिट छ । दुई तिहाई पुग्न कम्तिमा तीनवटा शक्ति एकै ठाउँमा आउनुपर्छ । तर, तीनवटा शक्तिहरुले नामबारे अलग प्रस्ताव गरेपछि कसैको पक्षमा पनि दुई तिहाई पुगेन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot