काठमाडौं, ५ चैत्र । समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्व माओवादी नेताहरुलाई लाज लाग्नुपर्ने भन्दै आलोचना गरेका छन् । हिजो प्रदेश नं २ को प्रदेशसभाले मतदानमार्फत् मधेश नाम राख्ने प्रस्तावलाई अस्वीकृत गरेपछि भट्टराईले आज ट्वीट गरी पूर्व माओवादी नेताहरुको नाम नै तोकेर लाज लाग्नुपर्ने भनी ट्वीट गरेका हुन् ।
डा. भट्टराईले पूर्व माओवादी कमरेड भन्दै मातृका यादव, प्रभु शाह, भरत शाह देखि नयाँ शक्तिका रामचन्द्र झा, रामकुमार शर्मा र महेन्द्र पासवानको नाम तोकेर लाज लाग्नुपर्ने भनेका हुन् ।
उनले मधेशी पहिचान नेपालको संविधानले स्वीकार गरेको अवस्थामा प्रदेशको नाम मधेश किन हुन सक्दैन भनी प्रश्न गरेका छन् । भट्टराईको दल समाजवादी पार्टी र राजपा मधेश नामको पक्षमा थिए । तर, नेकपा, काँग्रेसलगायतका दलले यो नामलाई अस्वीकृत गरिदिए ।