काठमाडौं, ५ चैत । पर्यटकलाई नेपालमा रोक लगाइएपछि खाली भएका होटलहरुलाई सरकारले क्वारेन्टाइन बनाउने तयारी गरेको छ । नेपालमा कोरोना भाइरसको संक्रमण देखिएका होटलहरुलाई क्वारेन्टाइन बनाउन लागिएको हो ।
होटेललाई अस्थायी क्वारेन्टाइन र अस्पतालका रूपमा प्रयोग गर्न सरकारले होटेल संघ नेपाल (हान)लाई प्रस्ताव गरेकोमा होटल व्यवसायीहरु यसमा सहमत भएका छन् । यस विषयमा आफुहरु सकारात्मक रहेको र कसरी प्रयोग गर्ने भन्ने बारे छलपल चलिरहेको हानका प्रथम उपाध्यक्ष विनायक शाहले बताए ।
कोरोना फैलिएर भयावहको अवस्थामा होटेल प्रयोग गर्ने गरी छलफल थालिएको हो । यसैबीच होटेल संघ नेपालको क्षेत्रीय संघ भैरहवाले होटेललाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्न दिने निर्णय नै गरिसकेको छ । सिद्धार्थ होटेल संघ (सान)ले संस्थागत निर्णय गरेर जस्तोसुकै सहयोग गर्न तयार भएको जनाएको हो ।
हानका अनुसार पर्यटकस्तरका होटेलमा दैनिक ६५ सय मानिसलाई क्वारेन्टाइनमा राख्न सकिन्छ । ‘हामीसँग दैनिक ६ हजार ५ सय पर्यटकलाई राख्न सक्ने क्षमता छ, सोही कोठाहरू प्रयोगमा ल्याउन सकिन्छ,’ उपाध्यक्ष शाहले भने । अहिले पाँच तारे होटेल मात्रै १२ वटा पुगिसकेका छन् । ‘अहिले होटेलको अकुपेन्सी भनेको १० प्रतिशत हो, त्यो पनि घट्दो क्रममा रहेको छ,’ शाहले भने । होटेल नै खाली भए पनि राज्यलाई अप्ठ्यारो पर्दा सहयोग नगर्ने कुरै नहुने शाहले बताए ।
कोरोनाका कारण होटेल व्यवसायीहरूले दैनिक २ अर्ब रुपैयाँ घाटा व्यहोर्नुपरेको व्यवसायीहरूले जनाएका छन् । होटेलको अकुपेन्सी ४० प्रतिशतभन्दा कम भएमा घाटा हुने शाहको भनाइ छ ।
होटेल संघले देशभरका आफ्ना सदस्यहरूलाई धारणा तयार गर्न बुधबार भेला आयोजना गरेको छ । कोरोनाको होटेलमा परेको असर र आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने शाहले बताए । सबै लक डाउन गरिएपछि आन्तरिक पर्यटन प्रवर्द्धन गर्न दिनसमेत सरकारसँग माग गर्ने तयारी रहेको समेत शाहले जानकारी दिए । सबै लक डाउन गरेपछि बिदा दिएर आन्तरिक घुमफिरमा निस्किने हो भने पनि धेरै हदसम्म अर्थतन्त्र जोगाउन सकिने तर्क शाहले गरे ।-दृष्टिबाट