जे पी गुप्ता: मैले अहिलेका प्रधानमन्त्री केपी ओलीजीलाई फरक–फरक अवस्थामा दूईपटक दिल्लीमा भेटे । पहिलोचोटी अपोलो असपतालमा मिर्गौला प्रत्यारोपण गर्न जानुभएको थियो । प्रत्यारोपणपछिको पहिलो स्वास्थ्य परिक्षण तालिकाअनुसार दिल्ली पुग्दा उहाँ सवा महिना बस्नुभयो । सरकारी आवास डिफेन्स कोलोनीको एउटा गेष्ट हाउसमा उहाँको बसाई थियो । सरकारले उपलब्ध गराएको त्यो गेष्ट हाउसमा खानपिनको पनि व्यवस्था थियो । मैले भेट्दा इन्डोनेशियन बाटिक सर्ट र पाइन्ट लगाएर बस्नुभएको थियो । रत्ति पनि लागेन कि उहाँ मिर्गौला ट्रान्सप्लान्ट गराएको मान्छे हो । मैले दुई जना त्यस्ता मान्छे देखेको छु मिर्गौला प्रत्यारोपणलगत्तै निधन भएको । तर, केपीजीमा प्रत्यारोपण त के सामान्य रुघा, खोकी पनि छ जस्तो नदेखिने ।
डा. शेखर कोइराला त्यही बेला दिल्ली पुग्नुभएको थियो । उहाँले पनि भन्नुभयो, ‘यो मान्छेमा रत्ति पनि चिन्ता पाइनँ ।’ वास्तवमा हामी उहाँसँग उपचारका बारेमा केही कुरा गर्न खोज्दै थियौ । उहाँ चाही केही भएको छैन जस्तो, दिल्ली आएको बेला यसो चेकअप गराइहालौं भनेजस्तो शैलीमा प्रस्तुत हुनुभयो । जब बिरामीले नै आफुलाई बिरामीजस्तो महसुस गरेको छैन भने सोध्ने मान्छेले त्यही कुरा सोधेर हतोत्साहित गर्ने कुरा पनि भएन । यस्तो देखेर शेखर कोइराला छक्क पर्नुभयो ।
त्यसबेला उहाँले आफ्नै पार्टी, संस्दिय व्यवस्था, काग्रेस र एमालेबीचको सम्बन्धका बारेमा कुरा गर्नुभयो । हामी छक्क प¥यौ । कतैबाट पनि उहाँमा अस्वस्थताको छनक पाइँदैनथ्यो ।
दास्रो पटक फेरी छ महिना पछि उहाँ दिल्ली पुग्नु भयो । संयोगले त्यसबेला म पनि दिल्ली पुगेँ । कृषि मन्त्री थिएँ । एउटा कार्यक्रममा भाग लिनुपर्ने । म होटल ताजमहलसिंहमा बसें । उहाँ पनि त्यहि हुनुहुँदो रहेछ । उहाँसँग मैले नचिनेका एकजना सहयोगी थिए । त्यसक्रममा उहाँसँग ६–७ दिन बस्दा मैले कतै नदेखेका अचम्म–अचम्मका दृश्य देख्न पाए । उहाँले भन्नुभयो, ‘जयप्रकाशजी ,तपाई त मन्त्री भएर आउनुभएको छ । तपाईको आफ्नो प्रोटोकल होला । मत टुरिष्ट भएर आएको छु । ’ मैले हाँस्दै भने ‘इलाज गराउन आएको मान्छे कहाँ टुरिष्ट हुन तपाई ? ’ उहाँले भन्नुभयो, ‘ल तपाईलाई थाहै छैन, आजैमात्र लोटस मन्दिर, इन्डिया गेटसहित तीन ठाउँमा घुमे । ’ म ट्वाल्ल परे । उहाँले एकछिनपछि मेरो काँधमा हात राख्नुभयो र ‘अच्छा जेपीजी’ भन्दै कुरा अगाडी बढाउनुभयो, ‘आज साँझ हामी जम्नुपर्छ । ’
मैले सोधे, ‘कता ? तपाईको कोठामा कि मेरो कोठामा ? ’ उहाँले भन्नुभयो, के को कोठा नि ? आज रेष्टुरेण्टमा बस्ने, खाने, रमाइलो गर्ने ’ उहाँले ताज होटलकै रेष्टुरेण्टमा बस्ने कुरा गरेपछि मैले भने, ‘यहाँको डिनर ११ बजे शुरु हुन्छ । रंगीचंगी त १०, साढे १० मा मात्रै शुरु हुने हो । तपाई बिरामी मान्छे । त्यति अबेरसम्म बस्न सुट गर्दैन । बरु कोठामै खानासाना खाएर बेलैमा सुत्नुपर्छ । ’ तर, मेरो कुरामा उहाँले झर्को मान्दै भन्नुभयो, ‘ल ल आज अरु कुरा छोडिदिनुस् । हामी बस्ने पक्का भयो । ’
हामी ताजकै रेष्टुरेन्टमा बस्यौ । केपीजीले भन्नुभयो, ‘बुझ्नभयो, मैले यहाँ बसेर बल्ल थाहा पाए नि कतिबेला दिन शुरु हुन्छ भन्ने । दिनभरी काम गरेर, घरमा नुहाई, धुवाई गरेर, सफाचट भएर मान्छेहरु आएका छन् । कुर्तामा यसरी आइरन लगाएका छन् कि त्यो धारले नै काट््ला जस्तो । यहाँ त राती ११ बजेबाट पो दिन शुरु हुुँदोरहेछ । ’ यसक्रममा हामीले मदिरा पियौ, उहाँले जुस पिउनुभयो । हामीले हाम्रै अनुकुलका सितन खायौ, उहाँका लागि स्वास्थ्यलाई अनुकुल हुने खानाहरु अर्डर ग¥यौ । यसप्रकार रातीको सवा १ बजेसम्म बस्यौ । त्यसक्रममा उहाँमा रति पनि थकान, आलस्यता पाइएन । ‘ल कमरेड,अब जाऔ’ हामीले भन्यौ ।
मलाई त्यहि दिन लागेको हो , उहाँ अचम्मको बिन्दास मान्छे । स्वास्थ्य प्रति आशावादी पनि । यसपाली ओली बिरामी हुँदा ती दुई घटना सम्झेर साथीभाइलाई भने, ‘यो मान्छेको आधा बिरामी इच्छाशक्तिले निको पारेको छ ।- जनआस्था साप्ताहिकबाट साभार