Logo

‘अत्यावश्यक बाहेक घरबाहिर ननिस्कनू’ एसइई स्थगित, विद्यालय तथा क्याम्पसमा पठनपाठन बन्द



काठमाडौं, ६ चैत । सरकारले विश्वव्यापी रूपमा फैलिरहेको कोभिड १९ (कोरोना भाइरस) संक्रमणको जोखिम हुन नदिन बिहीबार सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइई) सहितका विभिन्न परीक्षा स्थगित गरेको छ। सरकारले जोखिम बढ्न नदिन पूर्वसावधानी तीव्र बनाउँदै चैत ७ गतेदेखि युरोपसहितका विभिन्न देशबाट नेपाल आउन रोक लगाउने निर्णयसमेत गरेको छ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वमा संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बुधबार बसेको बैठकले पूर्वसावधानी अपनाउन दर्जनभन्दा बढी निर्णय लिएलगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले बिहीबारबाट सुरु हुन लागेको एसइई परीक्षा पनि स्थगित गर्न निर्देशन दिएका हुन्। पोखरेल नेतृत्वको समितिले एसइईको तयारी पूरा भएको जनाउँदै त्यसबाहेक स्कुल र क्याम्पसको पठनपाठन चैत महिनाभरि बन्द गर्ने निर्णय गरेको थियो। तर प्रधानमन्त्री ओलीले विश्वमै कोरोना भाइरसको संक्रमण बढिरहेको भन्दै पूर्वसावधानी अपनाउन सबै तहका परीक्षा रोक्न निर्देशन दिएका हुन्।

समितिका निर्णयलाई निरन्तरता दिंदै प्रधानमन्त्रीको निर्देशनमा एसइईसहितका सबै परीक्षा स्थगित गर्ने निर्णय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। ‘पार्टीको सचिवालय बैठकमा पनि एसइई परीक्षासहितका विषयमा कुरा उठेपछि प्रधानमन्त्रीले नै सबै परीक्षा रोक्ने निर्णय लिनुभएको हो,’ थापाले भने, ‘उपप्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय समितिकै निर्णयको निरन्तरता हो यो पनि।’ शिक्षा मन्त्रालयले परीक्षाका लागि सबै तयारी पूरा भएको भन्दै परीक्षा स्थगित नगर्ने मंगलबार साँझ जनाएको थियो। सरकारले स्कुल र क्याम्पसहरू चैत मसान्तसम्म बन्द गर्ने निर्णय पनि गरेको छ। ‘बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालय र विश्वविद्यालयको पठनपाठन २०७६ चैत मसान्तसम्मका लागि बन्द गर्ने,’ निर्णयमा भनिएको छ। सरकारले आम नागरिकलाई अत्यावश्यकबाहेक हिँडडुल नगर्न, सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यमा पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी उपस्थित नहुन आग्रह गरेको छ।

सरकारले डान्सबार, सिनेमाहल, मनोरञ्जन स्थल, क्लब ३० अप्रिलसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ। सार्वजनिक सवारीसाधनमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, यात्रु राख्नुअघि सवारी साधनलाई संक्रमणरहित गर्नुपर्ने, सर्वसाधारणलाई भीडभाडमा यात्रा नगर्न अनुरोध गरेको छ। सार्वजनिक स्थललाई निश्चित समयको अन्तरमा सफाइ गर्ने जिम्मा स्थानीय निकायले गर्नुपर्ने जनाउँदै बैठकले उपभोग्य सामग्रीको कृत्रिम अभाव बनाई कालोबजारी र मिसावट गर्नेगराउनेलाई तत्कालै कारबाही गरिने जनाएको छ। सार्वजनिक सवारीसाधनमा सिट क्षमताभन्दा बढी यात्रु ओसारपसार नगर्न समेत यातायात व्यवसायीलाई अनुरोध गरिएको छ। उक्त कार्यको अनुगमनमा नेपाल प्रहरी परिचालन हुने उल्लेख छ। (नागरिक दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्