काठमाडौं, ६ चैत्र । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय कार्यान्वयनबारे पूनः छलफल भएको छ । हिजो अपरान्ह बसेको बैठकमा उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा लैजानेबारे यसअघि नै भएको निर्णय तत्काल कार्यान्वयन गर्नुपर्नेबारे छलफल भएको थियो ।
स्रोतकाअनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग गौतमलाई राष्ट्रिय सभचामा लैजानेबारेको निर्णय कार्यान्वयनतर्फ ध्यानाकार्षण गराएका थिए । अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीलाई फकाएको बुझिएको छ ।
सचिवालयको बैठकमा आउनुपुर्व बाहिर सहमति गरेर वामदेवलाई राष्ट्रिय सभामा लैजानेबारे निर्णय गरिएको भन्दै ओली सचिवालयका ७ सदस्यसँग रुष्ट थिए । त्यतिवेला ओलीको पक्षमा ईश्वर पोखरेलमात्रै उभिएका थिए । ओलीले कुनैपनि हालतमा वामदेवलाई राष्ट्रियसभामा लैजानेबारे निर्णय कार्यान्वयन नगर्ने चेतावनी दिएपछि नेकपाभित्रको विवाद छताछुल्ल भएको थियो ।
स्रोतका अनुसार हिजोको बैठकमा अध्यक्ष दाहालले गौतमलाई राष्ट्रिय सभामा लैजानेबारे निर्णय तत्काल कार्यान्वयन गर्न जोड दिए । उक्त निर्णयमा तलमाथि नगर्नसमेत उनले ओलीको ध्यानाकार्षण गराएका थिए । यदि निर्णय नमान्ने अटेरी गरेर त्यो ओलीको लागिनै प्रत्युपादक हुनेसमेत दाहालले खतरा औंल्याईदिएका थिए । दाहालको भनाई उदृत गर्दै स्रोतले भन्यो,‘यदि उहाँले यो निर्णय तलमाथि गर्नुभयो भने यसले तपालाई घाटा हुन्छ ।’
उता, पार्टीका बरिष्ठ नेता झलनाथ खनालले पनि उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा लैजानेबारे निर्णय कार्यान्वयन हुने र उक्त निर्णयमा तलमाथि नहुने स्पष्ट पारेका छन् । आज विहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खनालले भने,‘वामदेव कमरेडलाई राष्ट्रियसभामा लैजाने निर्णय सर्वसम्मत हो, यसमा अध्यक्ष ओली पनि सहमत हुनुहुन्छ । हामीले कुरा गरिरहेका छौं । निर्णय कार्यान्वयन हुन्छ ।’ file photo