काठमाडौं, ६ चैत्र । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साउद पूर्व शिक्षामन्त्री पनि हुन् । उनले कोरोना भाइरसविरुद्ध सरकारले चालेको कदमको प्रशंशा गर्दै जनतालाई राहत दिने योजना ल्याउनुपर्नेमा जोड दिएका छन् । साउदसँग यसै विषयमा ऋषि धमलाले गरेको कुराकानीः
सरकारले कोरोनाविरुद्ध कडा कदम चाल्यो, तपाईंको दृष्टिकोण के छ ?
यसको विरुद्ध पूर्वतयारी जसरी गर्नुपर्ने हो, त्यो भएको छैन । उत्तरतिर हिमालय र दक्षिणतिर समुद्र हुनाले दैबसंयोगले अहिलेसम्म विश्वव्यापी महामारी कोरोना भाइरसबाट जोगिन सफल भएको छ । तर, यो खोजिमबाट बच्नको लागि जसरी जनचेतनाका काम र चिकित्सकहरुको तयारी हुनुपर्ने थियो, ती काम हुन सकेका छैनन् । एसईई परीक्षा पनि सरकारले विद्यार्थीलाई पुरै मनोवैज्ञानिक असर पर्ने अन्तिम दिन आएर स्थागित गरेको छ । जब कि अरुदेखि शिक्षण संस्थाहरु धेरै पहिलादेखि बन्द भइसकेको अवस्था थियो । यसमा सरकारका केही कमीकमजोरी छन् । त्यो हुँदाहुँदै यो राष्ट्रिय संकट भएकाले सबैले आ–आफ्नो तह र ठाउँबाट सहयोग पु¥याउनुपर्छ । यसकाबीच नागरिकबीच जनचेतनाका कार्यक्रमहरु ल्याएर तयारीसाथ अगाडि बढ्नुपर्छ ।
सरकार कोरोनाविरुद्ध जस्तोसुकै कदम चाल्न पनि तयार भएर बसेको यो अवस्थामा प्रतिपक्षले चाहीं जहिले पनि विरोध मात्रै गर्ने ?
पूर्व तयारी भनेको के हो ? अहिलेसम्म सरकारमा भएका जिम्मेवार मन्त्रीहरुका अभिव्यक्ति हुर्दा, सुन्दा त्यति तयारी भएको जस्तो देखिँदैन । स्वास्थ्य संस्थाहरुले पनि हामीहरु परिचित नै छौं । सामान्य उपचार गराउँदाखेरी त समयमा डाक्टर, नर्स भेटिँदैनन् भन्ने गुनासाहरु आइराखेका छन् । हाम्रा सुरक्षा संयन्त्रसँग पनि स्वास्थ्य सुरक्षाका के–कस्ता तयारीहरु भएका छन् । त्यसमा एकिन व्यवस्था भइराखेको जस्तो लाग्दैन । तर, मिडियाबाट हो या सामाजिक सञ्जालबाट हो नागरिकहरुबाट स्वफूर्त रुपमा सचेतना आइराखेको छ । यो बरु सकारात्मक कुरा हो ।
नेपाली कांग्रेसको गतिविधिलगायतका कामहरु ठप्प भयो होइन ?
ठूलो भीडभाड नगर्ने भनेर सरकार पनि बोलिराखेको छ । हाम्रो पार्टीले अग्रसरता लिएर बोलिरहेको छ । फर्मल बैठकहरु नबस्ने भनिएको छ । त्यसैले हाम्रो केन्द्रीय समिति बैठक पनि स्थगित जस्तै हुन्छ ।
अब त तपाईंहरुको पार्टीको गतिविधि त नहुने भयो नि ?
सरकारले नै २५ जनाभन्दा बढीको संख्यामा समूहमा भीडभाड नगर्नुस् भनिसकेको छ । कुनै बैठक, गोष्ठी पूर्वतयारीका साथ गर्नै सकिँदैन भन्न चाहीं सकिँदैन । सरकार त्यसरी प्रतिबन्ध नै गरेको चाहिं होइन । त्यसरी भेला नहुनुहोस् भनेर निर्देशन गरेको अवस्था हो । त्यसलाई चाहिं नकारात्मक रुपमा लिनुहुँदैन ।
तपाईं त शिक्षा मन्त्री पनि भइसकेको व्यक्ति हो, यति बेला विद्यालयका पठनपाठनदेखि कलेजहरुका परीक्षा पनि ठप्प भएको अवस्था छ, तपाईंको भनाइ के हो ?
यो महामारीको रुपमा भएको हो । भारत, चीनलगायत अन्य मुलुकहरुमा पूर्व तयारीसाथ भएका छन् । यसलाई अलिकति अगाडि गरेको भए मानिसमा यो तहको तनाव हुन्नथ्यो । नेपालमा अहिलेसम्म अफिसियल रुपमा कोरोनाको कुनैखाले डिक्लियरर्स गरिएको छैन । तर, पूर्व तयारीसाथ ठूलो भीडभाड, भोज, भतेर, सभासम्मेलन रोक्नु चाहिं नकारात्मक कुरा होइन ।
अहिले विद्यार्थीहरुले इन्टरनेटको माध्यमबाट घरमै भएपनि पढ्न पाउनुपर्छ भनेर त्यो कति सम्भव छ ?
केही महिना पहिले मात्रै इन्टरनेटको मूल्य आकासिँदो गतिमा बढाइएको छ । अहिले पनि इन्टरनेटको सुविधाबाट धेरै स्कुल, अभिभावक र बालबालिकाहरु ब्ञ्चित रहेको अवस्था छ । अलिकति हुनेखाने वर्गका लागि यसबाट फाइदा हुन सक्छ । तर, आमविद्यार्थीहरुलाई अहिले पनि त्यो सुविधाबाट वञ्चित छन् । त्यसकारण एउटा प्याकेज सुविधा ल्याएर भएपनि निश्चित समयका लागि निःशुल्क गर्नुपर्छ । यसमा दूरसञ्चार प्राधिकरण होस् या निजी कम्पनी होस् यो समयमा लाग्ने इन्टरनेट सुविधाको खर्च सरकारले व्यहोर्नुपर्छ । यस्ता कुरामा सरकारले ध्यान दिएमा एसईई परीक्षा दिन नपाएर घरमा बसेका विद्यार्थीहरुलाई ठूलो सुविधा हुने थियो । त्यसमा ध्यान दिनुपर्छ भन्न चाहन्छु ।