एजेन्सी, ६ चैत्र । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसको विश्वव्यापी महामारीलाई विगतमा भएका दुईवटा विश्वयुद्ध भन्दा खतरनाक भनेका छन् । उनले आज भारतवासीका नाममा सम्बोधन गर्दै सँसारमा प्रथम र द्धितीय विश्वयुद्धले प्रभावित भएका भन्दा बढी देश कोरोना भाइरसबाट प्रभावित भएको बताएका हुन् ।
‘जब प्रथम विश्वयुद्ध र द्धितीय विश्वयुद्ध भएको थियो तब पनि यति धेरै देशहरु युद्धबाट प्रभावित भएका थिएननन् जति आज कोरोनाको रोगबाट प्रभावित भएका छन्,’ मोदीले भने । कोरोना भाइरसको उपचार नभएकाले घरमै सुरक्षित हुनुबाहेकको विकल्प नभएको बताए । सबै मानव जातिलाई कोरोना भाइरसलाई संकटमा पारेको बताए ।
मोदीले २२ मार्च विहान सात बजे देखि बेलुका ९ बजेसम्म जनता कफ्र्युको घोषणा गरेका छन् । उनले कोरोना भाइरस संक्रमण फैलन नदिन भविष्यको तयारीका लागि जनता कफ्र्युको घोषणा गरेको बताए । उनले भने, ‘जनता कफुर्युको सफलताले भविष्यको चुनौतीको तयारी गर्नेछ ।’ सबै समुदाय र धार्मिक संघसंस्थालाई कफ्र्युबारे जानकारी दिन आग्रह समेत गरे ।
हरेक भारतीय नागरिक सजग हुनुपर्ने भन्दै मोदीले भने, ‘तपाईंहरु अत्यावश्यक काममा बाहेक घरबाट ननिस्कनुहोस् ।’ उनले ६० वर्ष कटेका नागरिकलाई घरमै रहन आग्रह गरे ।
मोदीले घरेलु कामदारहरुको तलब वा ज्याला नकाट्न समेत आग्रह गरे । उनले कामदारलाई यो घडीमा साथ दिन भने । अनावश्यक घरमा खाद्यान्न भण्डारण नगर्न आग्रह गरे । उनले भने, ‘भ्रमबाट टाढा रहनुहोस् ।’