Logo

होटल हायात रिजेन्सी बन्द, अन्यमा छलफल



काठमाडौं, चैत ७ । कोरोना भाइरस संक्रमणको प्रभावले काठमाडौंस्थित पाँचतारे होटल हायात रिजेन्सीले आफ्नो सेवा बन्द गरेको छ। होटल व्यवस्थापनले बिहीबार सूचना जारी गरी वैशाख ९ सम्मलाई होटेलका सेवा बन्द गरेको जानकारी गराएको छ। होटलमा पाहुना कम हुँदै गएको र बुकिङ समेत नरहेकाले सेवा बन्द भएको सूचनामा उल्लेख छ। उक्त समयमा होटलले कुनै प्रकारका कोठा बुकिङ नगर्ने र रेस्टुरेन्टबाट दिँदै आएका सेवासमेत बन्द राख्ने जनाइएको छ। सभा, सम्मेलन तथा पार्टीका लागि आएका बुकिङसमेत रद्द भएको होटलले जनाएको छ।

युरोपका सबै मुलुकका नागरिकलाई वैशाख ३ सम्म नेपाल प्रवेशमा सरकारले रोक लगाएपछि काठमाडौंका अन्य होटलले पनि आफ्नो सेवा बन्द गर्ने देखिएको छ।

अर्को पाँचतारे होटल सोल्टीले समेत आफ्नो अकुपेन्सी १० प्रतिशतमा झरेको जानकारी दिएको छ। होटलसम्बद्व एक अधिकारीका अनुसार सोल्टीमा रहेका तीन रेस्टुराँमध्ये एकमात्र सञ्चालनमा छ। बिहीबारसम्म होटलले सेवा बन्द गर्ने निर्णय नगरेपनि शुक्रबारदेखि युरोपेलीलाई नेपाल आगमनमा रोक लगाइएका कारण होटलले उपयुक्त निर्णय लिन सक्ने स्रोतको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्