भद्रपुर, चैत ७ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले सुदूरपूर्वी नाका काँकडभिट्टामा कोभिड–१९को सङ्क्रमणको जोखिम हुन नदिन भइरहेको कामको बिहीबार अनुगमन गरेका छन् ।
उनले जाँच प्रक्रिया, सुरक्षाकर्मी एवं स्वास्थ्यकर्मी परिचालनको निरीक्षण गर्दै कोरोना सङ्क्रमण रोकथामका लागि नाकामा भीडभाड हुन नदिन, स्थानीय खुला हाटबजार बन्द गराउन र अनावश्यक रुपमा भारततर्फ सर्वसाधारणलाई आवतजावत गर्न जान नदिन प्रमुख जिल्ला अधिकारी र प्रहरीका स्थानीय प्रमुखहरुलाई निर्देशन समेत दिएका थिए । मन्त्री कार्कीले सो भाइरसको जोखिम र जाँचमा खटिएकाको अवस्थाबारेमा कार्यस्थलमा परिचालित स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसँग सोधपुछ गरेका थिए ।
दैनिक नौदेखि १२ हजारसम्म मानिस भारतबाट आउने गरेको काँकडभिट्टा नाकामा न्यून साधन र स्रोतका कारण विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार स्वास्थ्यकर्मी परिचालन, आधुनिक उपकरणको उपयोग र दूरी कायम गरेर जाँच गर्न नसकिएको बताइएको छ ।
रासस