Logo

बजार अनुगमन गर्न मन्त्री भट्ट फेरि फिल्डमा उत्रिँदै



काठमाडौं, ८ चैत्र । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट बजार अनुगमन गर्न आफैं फिल्डमा उत्रिने भएका छन् । आज शनिबारको दिनपनि उनले मन्त्रालयमा सरोकारवालाहरुसँग छलफल गरेर कोरोनाको त्रासका बीच हुनसक्ने कालोबजारी र कृत्रिम अभाव रोक्नको लागि आफूनै फिल्डमा उत्रिने घोषणा गरेका छन् ।

विश्वभरि महामारीको रुपमा कोरोना फैलिएपछि नेपालमा पनि त्यसको प्रत्यक्ष असर परेको छ । विश्वभरि आर्थिक रुपमा ठूलो घाटा भएको छ । नेपालमा आम उपभोक्ता यतिवेला ठूलो मारमा परेका छन् । काठमाडौंमा डेरा गरी बस्नेहरु पनि ठूाले संख्यामा काठमाडौं छोडेर गृहजिल्ला फर्किएका छन् ।

यसअघि भट्टले बजारको छड्के अनुगमन गरिसकेका छन् । ग्यास, डिजल, पेट्रोल लगायतका पेट्रोलियम पदार्थको अभाव भएको गुनासोपछि मन्त्री भट्ट बुधबार सुरक्षा गार्ड र झण्डावाल गाडी बिना नै बजारको छड्के अनुगमनमा गएका थिए । मन्त्री भट्ट स्वकीय सचिवले चलाएको से १ त ८४३ नम्बरको प्राइभेट कारमा चढेर ललितपुर र काठमाण्डौका झण्डै दुई दर्जन पेट्रोल पम्प, ग्यास डिलर र बिक्रेता कहाँ पुगेका थिए ।

पुल्चोक, जावलाखेल, कुमारीपाटी, महालक्ष्मीस्थान, सातदोबाटो, एकान्तकुना, बल्खु, कलङ्की, कालीमाटी, टेकु, त्रिपुरेश्वर लगायतको ठाउँमा झण्डै दुई दर्जन पेट्रोल पम्पमा अनुगमन गर्दा सबै ठाउँमा सामान्य हिसाबले पेट्रोल डिजलको आयात भइरहेको पाइएको थियो ।

नाकाबन्दीमा जस्तै बजारमा अभाव हुने डरले उपभोक्ताले बोत्तल र ग्यालेनमा पेट्रोलरडिजल लैजाने गरेको तथा अतिरिक्त सिलिण्डर ग्यास भण्डारण गरेकाले केही समस्या देखिएको मन्त्री भट्टले बताउँदै आएका छन् । मन्त्री भट्टले कालिमाटी तरकारी तथा फलफुल बजारको पनि अनुगमन गरेका थिए ।

तरकारी बजारमा लसुन र स्याउको भाउ केही महँगो भएको देखिए पनि अरु बजार सामान्य रहेको पाइएको छ । कोरोनाको प्रभावले गर्दा तरकारी तथा फलफुलको आयात सामान्य रहेको कालिमाटी तरकारी बजारका कर्मचारीले मन्त्री भट्टलाई जानकारी गराएका थिए। file photo



प्रतिक्रिया दिनुहोस्