चैत ८, द. कोरिया । नेपाल सरकारले केही समयको लागि आगमनमा रोक लगाए सँगै दक्षिण कोरियामा पनि नेपाल फर्कन तयार रहेका नेपालीहरुमा समस्या देखिन थालिएको छ ।
वैधानिक भिषा अबधि सकिएर नेपाल फिर्ताको लागि कम्पनी छोडेर बाहिर निस्किसकेका र अन्य छोटो अबधिका लागि दक्षिण कोरियामा रहेका वा अन्य अप्ठ्यारोमा परेका नेपाली नागरिकहरुका लागि एनआरएनए कोरियाले आवश्यक सहयोग उपलब्ध गराउने भएको छ ।
कोरोना भाईरस नियन्त्रणका लागि नेपाल सरकारद्वारा मार्च १८ मा परिवर्तित गरिएको अध्यागमन नियमावलीका कारण बैधानिक भिषा अवधि समाप्त भै नेपाल फिर्ताका लागि कम्पनि छाडेर बाहिर निस्कीएका वा अन्य छोटो अवधिका लागि दक्षिण कोरियामा रहनुभएका नेपाली र खाना बस्न समस्या भएका नागरिकको लागि सुविधा उपलब्ध गर्ने भएको छ ।
परिवर्तित पछिल्लो अवस्थाका कारण आफ्नो भिषा अवधि केहि समय थप हुने भएता पनि थप गरिएका अवधिका लागि आवश्यक आवास स्थल तथा अन्य समस्यालाई ध्यान दिदै नेपाल सरकारले नेपाली नागरिकलाई प्रवेश निषेध गरेसम्मको अवधिको लागि अस्थाई बासस्थानको ब्यवस्थाको गर्न लागिएको हो । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाले यस्तो निर्णय गरेको महासचिव डाक्टर बिमल सुवेदीले जानकारी दिएका छन् ।
तत्कालका लागि सहयोग उपलब्ध हुने ठाउँ सौल तथा ख्यौंगी क्षेत्र सुवन, तथा बुसान (ख्यङ्नाम क्षेत्रमा र एनआरएनए कोरियाको क्षेत्रीय कार्यलय रहेको स्थान किम्हेबाट उपलब्ध हुने र आवस्यकता अनुसार अन्य क्षेत्रमा पनि बिस्तार गरिने पनि सचिव सुवेदीले बताएका छन् । उक्त कार्यमा सहयोगको लागि एनआरएनए कोरियाले अन्य संघ संस्थाहरुलाई पनि सहयोगको अपिल गरेको छ ।
-दक्षिण कोरियाबाट सविना कार्कीको सहयोगमा