काठमाडौं, ८ चैत्र । सरकारले १० चैत्रको मध्यरातिबाट बाह्य उडान सबै बन्द गर्ने निर्णय लिएपनि आन्तरिक उडान भने बन्द नहुने भएको छ । कोरोना भाइरसको जोखिमका कारण बाह्य उडान बन्द गर्ने निर्णय लिएको सरकारले आन्तरिक उडानलाई निरन्तरता दिने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक त्रिलोचन पौडेलले आन्तरिक उडान बन्द नहुने बताए । उनले भने, ‘आन्तरिक उडान रोक्ने कुनै जानकारी आएको छैन, निर्वाध रुपमा चल्छन् ।’
आन्तरिक उडान पनि बन्द हुने हल्लाले अहिले आन्तरिक वायुसेवा कम्पनिहरुमा उडानको चाप बढेको छ । भाडादर उच्च भएको छ । तर, विमानबाट देशभित्रको उडान नरोकिने भएबाट आत्तिनुनपर्ने बुझिएको छ ।
अहिले कतिपय देशबाट उडान बन्द भइसकेका छन् । भारतबाट नेपाल प्रवेश गर्ने यात्रुको चाप बढेको बुझिएको छ । तर, पर्सिबाट सबै बन्द हुनेछ । आन्तरिक उडानमा भने तत्काल अवरोध नहुने गरी तयारी गरिएको छ ।