चैत ८, काठमाण्डौ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपाल भित्रिने डरले उपत्यका छाडेर घर फर्कनेको संख्या दैनिक बढ्दो छ । सरकारले सोमबारबाट लामो दूरीका सवारी साधन सञ्चालनमा रोक लगाउने घोषणा गरेसँगै बसपार्क र टिकट काउन्टरहरूमा यात्रुको भीड बढेको छ । सोमबारपछि घर जान नपाउने डरले आइतबारसम्ममा जसरी पनि गृहजिल्ला फर्किन हतार गरेको बुझ्न सकिन्छ ।
तर यो हतारोले गर्दा सयौँ मानिस बसपार्कमा जम्मा भएका छन् । यसरी जम्मा हुँदा कोरोना संक्रमणको जोखिम उच्च हुन्छ । यसतर्फ भने न सरकारले ध्यान दिएको छ, न सर्वसाधारणले नै ।
एकपटक यो भिड हेर्नुहोस् :
यो काठमाण्डौको गंगबुस्तिथग नयाँ बसपार्क हो । अब तपाई आफैँ अनुमान गर्नुहोस्, यहाँ कोरोना संक्रमणको जोखिम कति होला ? पक्कै पनि, २५ जनाभन्दा धेरै मानिस एकै ठाउँमा उपस्थित हुनु जोखिम छ भनेर सरकारले नै उर्दी जारी गरिरहेको छ । तर यो दृश्यतर्फ पनि सरकारले ध्यान दिन सकेको छैन ।
घर जान चाहनेलाई रोक्न नसके पनि व्यवस्थित गर्न त अवश्य सकिन्थ्यो । तर सरकार र यातायात व्यवसायीले यसतर्फ कुनै चासो दिएको पाइदैन । यहाँ न सबैले माक्स लगाएका छन्, न स्यानिटाइजर प्रयोग गरिएको छ ।
काठमाडौंबाट बाहिरिने यात्रु बसमा सिट नपाउँदापनि मानिस बाहिर जान खोजेका छन् । उनीहरू बसभित्र मुडामा बसेर भएपनि घर फर्किन भन्दैटिकट लिइरहेका छन् । बसपार्कमा मात्रै होइन, कोचाकोच गरेर यात्रा गर्दा बसभित्र पनि कोरोना संक्रमणको जखिम उत्तिकै छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख (एसएसपी) भीमप्रसाद ढकालले भने संवेदशनील विषयमा नागरिक आफैँ पनि सचेत हुनुपर्नेमा जोड दिएका छन् । बसपार्कमा बल प्रयोग गरेर भिड नियन्त्रण गर्न उचित नहुने भएकाले जोखिमलाई मध्येनजर गर्दै यात्रुहरु नै सचेत हुनुपर्ने ढकालको तर्क छ ।
ढकालका अनुसार शनिबार बिहान ६ बजेदेखि १० बजेसम्म ५३ हजार ६ सय ८६ यात्रु उपत्यकाबाट बाहिरिएका छन् ।
शनिबार नै ११ हजार ४ सय १३ यात्रु बस उपत्यकाका विभिन्ननाकाबाट भित्रिएका छन् भने ८ हजार ३ सय १२ सवारी साधन बाहिरिएका छन् । शुक्रबार मात्र ९८ हजार ५ सय १७ जनाले उपत्यकाका छाडेका छन् । बुधबारयता ३ लाख ३७ हजार २ सय ५४ जना उपत्यकाबाट बाहिरिएका छन् ।