Logo

काठमाडौँ महानगरपालिकाद्धारा मास्क र स्यानिटाइजर वितरण



काठमाडौं, ८ चैत्र । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस नियन्त्रणका लागि आज ३२ वटै वडामा एक हजार थानका दरले मास्क र आधा लिटरका दुई थानका दरले स्यानिटाइजर पठाइएको छ । विश्वभर फैलिएको कोभिड–१९ को नियन्त्रण र रोकथामका लागि बिहीबार बसेको आकस्मिक कार्यपालिका बैठकको निर्णयअनुसार उक्त सामग्री वडामा पठाइएको हो ।

उक्त सामग्री वडामा गठन गरिएका विपद् व्यवस्थापन तथा नागरिक सुरक्षा समितिमार्फत वितरण गरिने कामपाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले जानकारी दिए। हरेक वडासहित वातावरण व्यवस्थापन विभागका लागि तीन हजार थान मास्क पठाइएको महानगरको शहरी स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रविलाश बज्राचार्य भन्छन् ।

महाशाखाले शहरी स्वास्थ्य क्लिनिकका अतिरिक्त अन्य विभिन्न २१ स्थानमा स्वास्थ्य सहायता कक्ष सञ्चालनको तयारी गरेको छ । स्वास्थ्य सहायता कक्षमा मास्क, स्यानिटाइजर, प्रचार सामग्री, थर्मल गनसहित राखिनेछ । कामपाले शुक्रबारदेखि राष्ट्रियसभा गृहबाट स्वास्थ्य सहायता कक्ष सञ्चालन कार्य शुरु गरिसकेको छ । वडावासीले सम्बन्धित वडा कार्यालयबाट निःशुल्क मास्क प्राप्त गर्न सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्