काठमाडौँ, ९ चैत । कोरोना भाइरस भित्रिने डरले यहाँस्थित नेपाल–भारत नाकामा सवारीसाधनको सञ्चालनमा रोक लगाइए पनि कोरोनाको उद्गमस्थल चीनलगायतका तेस्रो देशबाट आउने गरेका सामग्रीको आयात जारी छ ।
चीनलगायतका तेस्रो मुलुकबाट आउने सामानलाई भारतको समुद्री बन्दरगाहमा १४ दिन सेल्फ क्वारेन्टाइनमा राखेर पठाउनुपर्नेमा सो गरिएको वा नगरिएको सम्बन्धमा केही पनि जानकारी नभएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ । नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले चीन, दक्षिण अफ्रिका, दुबई, पाकिस्तान र सउदी अरबलगायतबाट आउने सामानलाई भारतको बन्दरगाहमा १४ दिन क्वारेन्टाइनमा राखेर पठाइएको हो कि होइन केही जानकारी नभएको बताएका छन् ।
उहाँले नेपालगञ्ज नाकामा ती सामानलाई क्वारेन्टाइन बनाएर राख्नेबारे केन्द्रबाट केही पत्र र निर्देशन नआएकाले यहाँ नरोक्ने गरिएको बताउनुभयो । भारतीय बन्दरगाहबाट सामान बोकेर आएका कन्टेनरलाई तत्कालै भन्सार जाँच पास गरेर भित्र पठाउने गरिएको छ, प्रमुख निरौलाले बताए । चीनलगायतका देशमा कोरोनाको कहर बढ्दै गएकाले पहिलेको तुलनामा अहिले तेस्रो देशबाट आउने सामानको आयातमा कमी आएको भन्सार कार्यालयले जनाएको छ । भन्सार कार्यालयका अनुसार गत पाँच दिनमा भारतीय बन्दरगाह हुँदै तेस्रो देश चीन, दक्षिण अफ्रिका, साउदी अरब, पाकिस्तान र दुबईबाट २५ करोड ३४ लाख रुपियाँभन्दा बढीका सामान नेपालगञ्ज भित्रिएका छन् । (गोरखापत्र दैनिकबाट)