एजेन्सी, ९ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एन.बी.सी न्युजका रिपोर्टरलाई झपारेका छन् । कोरोना भाइरसको सम्बन्धमा एन.बी.सीका रिपोर्टरले प्रश्न सोध्न खोज्दा ट्रम्पले उनलाई झपारेका हुन् । रिपोर्टरले कोरोना भाइरसबाट अमेरिकी नागरिकमा त्रास फैलिएको विषयलाई उल्लेख गरी प्रश्न सोध्दा जवाफमा उनले कडा आपत्ति व्यक्त गरेका हुन् ।
कोरोनाको बारे ह्वाइट हाउसले प्रत्येक दिन ब्रीफिङ गर्ने क्रममा शनिबार एन.बी.सीका रिपोर्टर पीटर एलेक्जेन्डरले ट्रम्पलाई अमेरिकी नागरिकमा कोरोनाबारे भ्रम सिर्जना गरिरहेको र नागरिकमा झुठो आश्वासन दिएको बारे प्रश्न सोध्ने क्रममा ट्रम्पले उनलाई कडा जवाफ दिए ।
रिपोर्टरले फोहोर प्रश्न सोधेको आरोप लगाई ट्रम्पले एन.बी.सी र अभीभावक संस्थालाई समेत आक्रमण गरेका छन् । रिपोर्टर एलेक्जेन्डरलाई ट्रम्पले खराब पत्रकार समेत भनेका छन् ।
रिपोर्टर एलेक्जेन्डरले कोरोनाको अवस्थामा अमेरिकाले कस्तो प्रकारको नीति र नागरिकबीच कस्ता प्रकारका आश्वासन प्रदान गर्ने विषयलाई ट्रम्पसामु राख्दा उनले रिपोर्टरलाई खराव पत्रकार रहेको बताए । ट्रम्पको प्रतिक्रियामा वाल स्ट्रिट जर्नल, न्यु योर्क टाइम्स र वाशिन्टन पोस्टले रिपोर्टरका पक्षमा लेखेको विषयमा आपत्ति समेत जनाएका छन् । कोरोनाको संक्रमण अमेरिकामा देखापरे लगतै ट्रम्पले विभिन्न सञ्चारकर्मीहरुलाई आक्रमण गरिरहेको जनाइएको छ ।