काठमाडौं, ९ चैत्र । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आज शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा मन्त्री थापाले नेपालमा भारतीय राजदूतका रुपमा कार्यभार सम्हालेकामा क्वात्रालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।
उनीहरुबीचको भेटवार्तामा नेपाल–भारत द्धिपक्षीय सम्बन्ध, आपसी सहकार्य र सहयोगका विषयमा छलफल भएको थियो । मन्त्री थापाले राजदूत क्वात्राको कार्यकालमा दुई देशको सम्बन्धले थप उचाई लिने विश्वास व्यक्त गरे ।
मन्त्री थापाले नेपालको विविध क्षेत्रका साथै सुरक्षा निकायको तालिम र भौतिक सामग्रीमा भारतले गर्दै आएको सहयोगप्रति राजदूत क्वात्रामार्फत भारत सरकारलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे । तस्वीरः किरण भट्टराई/रासस