काठमाडौं, ९ चैत्र । सरकारले स्वास्थ्यकर्मीहरुलाई प्रेरित गर्न प्रयोगशाला वा परिस्थितिअनुरुप स्वास्थ्य सेवाको ‘फ्रन्ट डेस्क’मा परिचालित हुने सबैलाई उत्प्रेरणास्वरुप ५० देखि शत्प्रतिशतसम्म प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय भएको छ । आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।
सरकारले स्वास्थ्यकर्मीहरुको व्यक्तिगत स्वास्थ्य सुरक्षाका लागि सबै उपकरणहरु उपलब्ध गराएर प्रोत्साहित गर्ने जनाएको छ । अन्तर्रा्ष्ट्रिय नाकाबाट कुनै सङ्क्रमित व्यक्ति फेला परेमा उनीहरुलाई उपचार केन्द्रमा पु¥याउनका निम्ति बिरामीलाई अस्पतालसम्म ल्याउने व्यवस्थाका लागि स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालयले सहकार्य गर्ने निर्णय गरेको छ ।
कोही त्यस्तो सङ्क्रमित व्यक्ति भेटियो भने त्यो भाग्न, आलेटाले गर्न तथा आनाकानी गर्न नपाओस्, हुलहुज्जत नगरोस् भन्नका लागि सुरक्षा र स्वास्थ्यकर्मीसहितको टोलीले उपचार गर्ने ठाउँसम्म त्यो व्यवस्था गर्ने पनि सरकारले निर्णय गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गृह, रक्षा र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसमेतको सहयोगमा पर्यटन मन्त्रालयको नेतृत्वमा सम्पूर्ण सुरक्षाकर्मीहरु समेतलाई परिचालन गरी सङ्घ, प्रदेश र स्थानीय तहमा क्वारेन्टाइन सेन्टरहरु राख्ने निर्णय गरेको छ । उक्त कार्यको नेतृत्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्नेछ । file photo/Mukunda Kalikote-ReportersNepal