काठमाडौं, १० चैत्र । वरिष्ठ चिकित्सक तथा नागरिक समाजका अगुवा डा। सुन्दरमणि दिक्षितले नेपालमा कोरोना भाइरसको संक्रमण रहेको ठोकुवा गर्दै आएका थिए । सरकारी निकायबाट कोरोना भाइरसका संक्रमित नभएको भनिरहँदा उनले यस्तो दाबी गरिरहे । डा. दिक्षितलाई झुटा अफवाह फैलाएको भन्दै कारबाहीको विषय पनि नउठेको होइन । तर, उनले सार्वजनिक रुपमा आफूलाई कारबाही गरेर देखाउन सरकारलाई चुनौती दिएका थिए।
‘सरकारले जुन तथ्यांकका आधारमा नेपालमा कोरोना भाइरस छैन भनेको छ म त्यहीं तथ्यांकका आधारमा कोरोना भाइरस छ भन्छु,’ डा। दिक्षितले प्राइम टाम्स टेलिभिजनको जनता जान्न चाहन्छन्मा गत हप्ता भनेका थिए, ‘ममाथि बयान लिए हुन्छ कारबाही गरे हुन्छ तर जे हो त्यही भन्छु ।’
तपाईं अफवाह फैलाउने भन्दै ऋषि धमलाको प्रश्नमा उनले भनेका थिए, ‘अफवाह होइन आँखा खोल भनेको हुँ ।’ नेपालमा कोरोना भाइरसको जोखिमबाट समयमै बच्न आवश्यक रहेको भन्दै अवस्थाको सही जानकारी लिएर बढ्नुपर्ने बताए । चीन, भारत, बँगलादेश, पाकिस्तान जस्ता नजिकका देशमा रहेको नेपालमा कोरोना भाइरस ज्वालामुखी बन्न सक्ने खतरा औल्याएका थिए। उनले भनेका थिए, ‘यो युद्ध हो, नदेखिने शक्तिबाट आक्रमण भएको छ, यसले असर देखाउँछ ।’
दिक्षितले दाबी गरेको तीन दिनपछि नेपालमा कोरोना भाइरसको संक्रमित भएको पुष्टि भयो । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले यसको पुष्टि सोमबार गरे । आखिर दिक्षित सही ठहरिए । उनले सरकारलाई तत्काल कडा कदम चाल्न बारम्बार आग्रह गरेका थिए ।
https://youtu.be/8fVUI-5V6CM