Logo

कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा कसकसले गरे करोडौँको सहयोग



चैत १०, काठमाण्डौ । सरकारले स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा राष्ट्रपति विद्यादेवी भण्डारीले २ महिनाको तलब दिने घोषणा गरेकी छन् ।

राष्ट्रपति कार्यालयले सोमबार विज्ञप्ति जारी गरी राष्ट्रपति भण्डारीले दुई महिनाको पारिश्रमिक दिने घोषणा गरेको जानकारी दिएको छ ।

त्यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले राहत कोषमा आफ्नो एक महिनाको तलब दिने घोषणा गरेका छन् । सोमबार उक प्रेस नोट जारी गरी उपराष्ट्रपति पुनले यस्तो घोषणा गरेका हुन् ।

उक्त कोषमा विभिन्न व्यक्ति र संघसंस्थाले स्वेच्छिक रुपमा रकम जम्मा गरिरहेका छन् । भाटभटेनी सुपरमार्केटका अध्यक्ष मिनबहादुर गुरुङले उक्त कोषमा १ करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन् । उनले आज यो घोषणा गरेका हुन् ।

भाटभटेनी सुपरमार्केटसका प्रबन्ध निर्देशकसमेत रहेका गुरुङले मुलुक अप्ठेरोमा परेका बेला सरकार र नागरिकलाई सहयोग गर्नु आफ्नो दायित्व भएको बताउँदै उक्त कोषमा एक करोड जम्मा गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

सभामुख अग्निप्रसाद सापकोटाले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न सरकारले गठन गरेको केन्द्रीय राहत कोषमा आफ्नो एक महिनाको पारिश्रमिक उपलब्ध गराएका छन् ।

कोषमा गायक प्रकाश सपुतले २ लाख रुपैयाँ सहयोग गरेका छन् ।

प्रकाशले सरकारसम्म र्पुयाइदिन भन्दै पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषलाई दुई लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

कोषमा प्रधानमन्त्रीका सचिवालय टीममा रहेका सदस्यहरूले पनि सहयोग गर्ने भएका छन् ।

कोषमा प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डाक्टर राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, आर्थिक मामिला सल्लाहकार लालशंकर घिमिरे, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी र स्वकीय सचिव राजेश बज्राचार्यले एक महिनाको पारिश्रमिक सहयोग गर्ने भएका हुन् ।

त्यस्तै विकास तथा पूर्वाधार विज्ञ गजेन्द्र थपलिया, संचार विज्ञ रामशरण बजगाईं र स्वकीय सचिव होमबहादुर थापाले भने आधा महिनाको पारिश्रमिक उपलब्ध गराउने भएका छन् ।

निर्माण व्यवसाय विकास परिषद्ले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड रुपैयाँ जम्मा गर्ने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत रहेको परिषद्को चैत ५ गते बसेको बैठकले १ करोड रुपैयाँ सहायतावापत कोरोना भइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

नेपाल बैंक लिमिटेडले १ करोड रुपैयाँ दिने घोषणा गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एक करोड रुपैयाँ दिने निर्णय गरिएको बैंकले जनाएको छ ।

यस्तै नर्भिक बसन्त चौधरी फाउन्डेसनले पनि सरकारको कोषलाई ५० लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सूचना जारी गर्दै विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९ ) को सङ्क्रमण फैलिन नदिन तथा सोको रोकथाम एव नियन्त्रणका लागि इच्छुक व्यक्ति तथा सङ्घसंस्थालाई राष्ट्रिय वाणिज्य बैंकमा खोलिएको खातामा रकम जम्मा गर्न अनुरोध गरेको थियो ।

सरकारले सिंहदरबारमा खोलेको खाता नम्बर १९६०००००११०१ रहेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सो कोष खडा गर्ने निर्णय गरेको हो । सो कोषमा मन्त्रीहरुले एक महिनाको तलब बराबरको रकम राख्ने निर्णय भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot