चैत १०, काठमाण्डौ । विश्वभर फैलिएको कोरोना भाइरस अहिलेसम्म १९४ देशमा पुगेको छ । यो भाइरस दिनप्रतिदिन एकपछि अर्को गर्दै विभिन्न देशमा फैलिएपछि विश्व स्वास्थ्य संगठनले डरलाग्दो सन्देश दिएको छ ।
कोभिड–१९ को महामारीले तीब्र गति लिन थालेको विश्व स्वास्थ्य संगठनको ठहर छ । सोमबार कोरोनाभाइरसबाट संक्रमित हुने सङ्ख्या ३ लाख ५० हजार पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या १५ हजार ४ सय ९६ हजार पुगेको छ ।
यहि तथ्याङ्कका आधारमा डब्लूएचओका प्रमुख टेड्रोस अधानोम घेब्रेसियसले जेनेभास्थित हेडक्वार्टरमा आयोजित पत्रकार सम्मेलनमा पहिलो १ लाख संक्रमित पुग्न ६७ दिन लागेको, दोस्रो १ लाखका लागि ११ र तेस्रो १ लाखका लागि मात्र ४ दिन लागेको उल्लेेख गरे ।
उनले जी–२० राष्ट्रहरुलाई कोरोनाभाइरसको संक्रमणसँग लड्नका लागि आवश्यक स्वास्थय सामग्री निर्माण गर्नका लागि सहकार्य गर्नका लागि आह्वान गर्ने पनि बताए ।
डब्लूएचओका अनुसार २ करोड ६० लाखभन्दा बढी स्वास्थ्यकर्मी कोरोनाभाइरसबाट संक्रमितको उपचारमा संलग्न हुने अनुमान गरेको छ । डब्लुएचओले केही हप्तामा नै यसले विश्वको स्वास्थ्य व्यवस्थालाई धरासायी बनाउन सक्ने चेतावनी दिएको छ ।
कोरोनाबाट कुल संक्रमितमध्ये १ लाख जनालाई निको भएको छ । दुई लाख ३७ हजार जनामा भने यसको संक्रमण अझै बाँकी छ । उनीहरू मध्ये गम्भीर बिरामीको संख्या भने ११ हजार जना छन् ।
दक्षिण एसियामा सबैभन्दा बढी पाकिस्तानमा ८७३ संक्रमित फेला परेका छन् । त्यहाँ ६ जनाको ज्यान गएको छ ।
भारतमा ४३३, श्रीलंकामा ९२, अफगानिस्तानमा ४०, बंगलादेशमा ३३, माल्दिभ्समा १३ र भुटानमा २ जनामा संक्रमण देखिएको छ । भारतमा ८, बंगलादेशमा ३ र अफगानिस्तानमा १ जनाको मृत्यु भएको छ ।
सुरुमा कोरोना भेटिएको चीन भने नियन्त्रणतर्फ गएको देखिन्छ । त्यहाँ ८१ हजार ९३ जनामा कोरोना देखिएको थियो । त्यसमध्ये जम्मा ५ हजार १२० जनामा कोरोनाको संक्रमण बाँकी छ ।
चीनमा ३ हजार २७० जनाको ज्यान गएको छ भने ७२ हजार भन्दा बढी निको भएर घर फर्कीसकेका छन् ।