Logo

सुरु भयो `लक डाउन´ अबधि, कारबाहीमा पर्नुहोला !



चैत ११, काठमाण्डौ । सरकारले हिजो गरेको निर्णयअनुसार आज बिहानदेखि लकडाउन सुुुुरु भएको छ । लक डाउन आज बिहान ६ बजेदेखि एक हप्ता लागू हुनेछ ।

कोरोना भाइरस (कोभिड १९)को संक्रमण भेटिए लगतै कोरोनासम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको थियो ।

फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । लकडाउन भएपछि आज बिहान ६ बजेबाट सरकारले अनुमति दिएका अधिकारी र अन्य मानिस बाहेक अरु बाहिर निस्कन पाइँदैन। बिहानबाट नै सुरक्षाकर्मी सडकमा परिचालन भएका छन् । गृह मन्त्रालयले सोमवार नै सम्पूर्ण सुरक्षा निकायलाई पत्रचार गर्दै सुरक्षा कडा बनाउन निर्देशन दिइसकेको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी बलले आज बिहानबाट लागू हुने लकडाउनको सुरक्षा व्यवस्थाको निगरानी गर्ने छ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न सरकारले देशभर लक डाउन घोषणा गरेको हो। संक्रामक रोग ऐन २०२० अन्तर्गत दिइएको आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर १ महिनासम्म कैद वा १ सय रुपैयाँ सम्म जरिवाना वा दुवै सजाय हुन्छ।

मंगलबार विहान ६ बजेबाट एक सातासम्म सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको हो ।
यस्तै सुरक्षा निकाय, स्वास्थ्यकर्मी खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्ने र अनुमति प्राप्त बाहेकका सवारी साधन चलाउने पाइने छैन ।

यस ऐनअन्तर्गत भए गरेको कसूरमा कारवाही र किनारा गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई हुने छ ।

यस्ता छन् निर्णयहरु :

१. औषधी उपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कने ।

२. अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाउने

३. सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानहरु बाहेक अन्य सबै आन्तरिक व्यवसायिक उडानहरु बन्द गर्ने

४. स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अति आवश्यक सेवाबाहेक अन्य कार्यालय सञ्चालनकोलागि आवश्यक पर्ने कर्मचारीहरु मात्र उपस्थित हुने गरी सम्बन्धित कार्यालय प्रमुखले विदा दिने ।

५. औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगहरु बाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग, कलकारखानाहरुमा काम गर्ने श्रमिक, कर्मचारीहरुलाई सम्बन्धित उद्योगले विदा दिने व्यवस्था मिलाउने ।

६. व्यवसायीहरुले औषधि र औषधिजन्य सामाग्रीहरुको नियमित आपूर्तिको व्यवस्था गर्ने । आभाव देखाई मुल्य बृद्धि गर्ने वा कालोबजारी,जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानून बमोजिम नियन्त्रणमा लिने, सामाग्री जफत गरी रोगको रोकथाम र उपचारको कार्यमा उपयोग गर्ने ।

७. संक्रमण रोग ऐन, २०२० को दफा २ को उपदफा (२) बमोजिम जारी यस आदेशको कार्यान्वयन गर्नका लागि आवश्यक व्यवस्था मिलाउन नेपाल राज्यका सबै प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने र सोको लागि स्थानीय प्रशासन ऐन, २०२८ को समेत आवश्यकता अनुसार प्रयोग गर्ने ।

८. संक्रमण रोग ऐन २०२० अन्तर्गत जारी आदेशको अवहेलना गर्ने वा काममा वाधा पुर्याउने व्यक्तिलाई सोही ऐन बमोजिम सजाय हुने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot