काठमाडौं, चैत ११ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विदेशमा रहेका नेपालीलाई कोरोना भाइरसको सङ्क्रमण र जोखिमबाट बचाउन हरेक प्रकारले सुरक्षा दिन सरकार पूर्ण रूपमा तत्पर रहेको बताएका छन् ।
यसनिम्ति उनले विदेशस्थित कामदारका लागि आवश्यक व्यवस्था गर्न निर्देशन दिइसकेको समेत जानकारी दिएका छन् ।उनले नेपालबाट श्रम मुलुकमा कामका लागि गएका नेपालीको सुरक्षाको अभिभावकत्व नेपाल सरकारको रहेकाले त्यसको प्रत्याभूति दिलाउन त्यहाँस्थित राजदूतलाई निर्देशन दिएको बताए ।
सोमबार विभिन्न मुलुकमा रहेका नेपालका राजदूतसँग भिडियो सम्मेलन गर्दै मन्त्री ज्ञवालीले विदेशस्थित नेपालीलाई नेपाल सरकारको अभिभावकत्वको प्रत्याभूति दिलाउन निर्देशन दिएका थिए । “अहिलेको अवस्थामा एकदमै उच्च सतर्क रहनु, कुनै नेपालीले विदेशमा दुःख पाएको भेटिएमा तुरुन्त उद्धार गरेर राख्ने व्यवस्था मिलाउनू”, मन्त्री ज्ञवालीले दिएको निर्देशनमा उल्लेख छ ।
त्यसअघि मन्त्री ज्ञवालीसमक्ष राजदूतहरूले आफू रहेको देशमा कोरोना भाइरस र वर्तमान अवस्थाबारे जानकारी गराएका थिए । राजदूतहरूले भिडियो सम्मेलनमा कामदार मुलुकमा रहेका नेपाली र त्यहाँका नागरिकबीच कुनै पनि भेदभाव नरहेको जानकारी गराएको जनाइएको छ । गोरखापत्र दैनिकबाट