पोखरा, ११ चैत्र । मान्छेहरु भेला गराएर क्रिश्चियन धर्मालम्बीहरुलाई कोरोना भाइरसको संक्रमण नहुने भनी अफवाह फैलाउने पाश्चलाई कास्की प्रहरीले पक्राउ गरेका छन् । उनीविरुद्ध अफवाह फैलाएको अभियोगमा मुद्दा दायर हुने भएको छ ।
जुम्ला घर भई पोखराको पावर हाउस बस्ने क्रिश्चियन धर्मगुरु केशवराज आचार्यलाई कास्की प्रहरीले पक्राउ गरेको डिएसपी राजकुमार केसीले जानकारी दिए । उनले अफवाहको भिडियो तयार गरेका थिए । भिडियो भाइरल भएको थियो । पोखरा तालचोकमा मानिसहरु भेला पारेर प्रभु यशुका अनुयायीलाई कोरोनाले छुन नसक्ने दाबी गरेका थिए । उनले यशुको कृपा चीनमा भएको र आफूहरु जस्ता विश्वासीलाई छुन नसक्ने भनेका थिए ।
विगतमा पनि आचार्यमाथि गैरकानुनी रुपमा धर्मप्रचार गरेको उजुरीहरु परेको बुझिएको छ । पछिल्लो समय कोरोना भाइरसबारे अफवाह फैलाउनेमाथि सरकारले कडा नीति लिदै आएको छ । यसअघि एक युवक कोरोना भाइरसबारे दुष्प्रचार गरेको अभियोगमा पक्राउ परेका थिए ।