काठमडौं, ११ चैत्र । सरकारले अत्यावश्यक वस्तुको कुनै पनि अभाव हुन नदिन त्यस्ता वस्तुको उत्पादन गर्ने उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न आह्वान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज एक सूचना जारी गर्दै सरकारले ‘लकडाउन’ को घोषणा गरेको भए पनि औषधि र स्वास्थ्य उपकरण वा सामग्री, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने सरकारी तथा निजी उद्योगहरु पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन आग्रह गरेको हो ।
ती उद्योग सञ्चालन गर्दा सङ्क्रमणको जोखिमलाई मध्यनजर राखी कर्मचारी र कामदारका लागि स्यानीटाइजर, मास्क लगाउने, भीडभाड नगर्ने, २५ जनाभन्दा बढी एक स्थानमा नरहने, कोही शङ्कास्पद बिरामी देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा पु¥याउने व्यवस्था गर्नसमेत मन्त्रालयले अनुरोध गरेको छ ।
त्यस्ता उद्योगले उत्पादित सामग्री नियमित रुपमा बजारमा पठाउने प्रबन्ध मिलाउन तथा उत्पादन नियमित तुल्याउन आवश्यक कच्चा पदार्थको अधिकतम मौज्दातको व्यवस्था गर्न आह्वान गरिएको मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले जानकारी दिए ।
यसैगरी मन्त्रालयले औषधि र स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगबाहेक सरकारी र निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग तथा कलकारखानामा काम गर्ने श्रमिक, कार्मचारीलाई सम्बन्धित उद्योगले बिदा दिने व्यवस्था गर्न पनि आग्रह गरेको छ ।
अत्यावश्यक वस्तुको उत्पादन गर्ने उद्योगलाई नियमित पूर्ण क्षमतामा उत्पादन थाल्न निजी क्षेत्रको छाता संगठनलाई आह्वान गरिएको मन्त्रालयले जनाएको छ । अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगको सञ्चालनमा कुनै बाधा अवरोध उत्पन्न भएमा मन्त्रालयमा तुरुन्त जानकारी गराउन पनि आग्रह गरिएको छ । file photo