काठमाडौं, १२ चैत्र । नेपालमा अहिलेसम्म कोरोना भाइरसका संक्रमित तीनजना पुगेका छन् । तीनजनामध्ये पहिलो व्यक्ति चीनमा अध्ययन गर्ने विद्यार्थी थिए । उनी चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि फर्किएका थिए । परीक्षणका क्रममा संक्रमित भेटिएका उनी आइशोलेशनमा बसेका थिए ।
नेपालगञ्ज स्थायी घर भएका पहिलो संक्रमित अहिले स्वस्थ भई सामान्य जीवनयापनमा फर्किइसकेका छन् । उनी संक्रमित भएको डेढ महिनासम्म कोही संक्रमित नभएको तथ्यांक आयो । तर, यसै हप्ता लगातार दुईजना संक्रमित भेटिएका छन् ।
दोस्रो संक्रमित १९ वर्षीया किशोरी हुन् । काठमाडौं स्थायी घर भएकी उनी फ्रान्सबाट नेपाल आएकी थिइन् । उनको संक्रमण १० चैत्रमा पत्ता लागेको थियो । कतारको दोहा हुँदै नेपाल आएकी उनी परीक्षणका लागि टेकु अस्पताल पुगेकी थिइन् । भियतनामकी आफ्नी रुममेटलाई कोरोना संक्रमण भएको जानकारी पाएपछि उनी परीक्षणका लागि पुगेका थिइन् । उनको परीक्षणमा कोरोना भाइरसको सक्रमण भेटिएको थियो । अहिले उनी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेकी छिन् ।
तेस्रो व्यक्तिलाई कोरोना भाइरसको संक्रमण भएको बुधबार पुष्टि भएको छ । कोरोना भाइरसबाट संक्रमित तेस्रो व्यक्ति विदेशबाट आएको खुलेको छ । उनी ५ चैत्रमा दुबईबाट काठमाडौं आएका थिए । दुबईबाट शारजाह हुँदै काठमाडौं उत्रिएका उनी धादिङ स्थायी घर भएका ३२ वर्षीय पुरुष हुन् ।
स्वास्थ्य मन्त्रालयले भने उनी कतारबाट आएको भनेको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कतारबाट आएको भनेका हुन् ।