Logo

कोरोनाको आंशकामा ११ जना आइसोलेशन



चैत्र १२ । कोरोना भाइरस (कोभिड १९) को आशङ्कामा थप ११ जनालाई काठमाण्डौ र ललितपुरको दुई वटा अस्पतालको आइसोलेशनमा राखिएको छ । अर्का एक जनालाई भने टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको भ्यान्टिलेटरमा राखेर उपचार गरिरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । तर उनलाई कोरोना सङ्क्रमण भएको पुष्टि अहिलेसम्म भएको छैन ।

कोरोना सङ्क्रमित १९ वर्षीया युवतीको आइसोलेशनमा राखेर उपचार भइरहेको र उनको अवस्था सामान्य छ । टेकु अस्पतालमा उनीसहित अरु पाँच जनाको चिकित्सकको निगरानीमा र एक जनाको भ्यान्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।

यसैगरी ललितपुरको लगनखेलमा रहेको पाटन अस्पतालमा अरु ६ जनाको उपचार भइरहेको छ । अस्पतालका अनुसार उनीहरुमा कोरोनाको संक्रमण पुष्टि भएको छैन ।

४ चैत्रमा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल फर्किएकी युवतीमा कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि उनलाई ९ चैत्र देखि अस्पतालमा डाक्टरको निगरानीमा राखेर उपचार थालिएको हो ।

यसअघि गएको माघ ९ गते चीनबाट आएका एक जनामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको थियो । तर केही दिन उपचार गरेपछि उनी निको भएका र अहिले सामान्य अवस्थामा रहेका पनि मन्त्रालयले जनाएको छ ।

नेपालमा मङ्गलबार बेलुकीसम्ममा ६ सय १० जनाको परीक्षण गर्दा ३ जनामा कोरोना सङ्क्रमण भएको र अरु ६ सय सात जनालाई भने मौसमी रुघाखोकी लागेको पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्