Logo

प्रदेश २ ले गर्यो राहत घोषणा, कोषमा २५ करोड



जनकपुरधाम, १३ चैत । कोरोना भाइरसका रोकथामका लागि सरकारले लकडाउन घोषणा गरेपछि प्रदेश २ ले राहत कोष स्थापना गरेको छ । कोरोना भाइरसका कारण देशभर गरिएको लकडाउनपछि प्रभावितका लागि कोष स्थापना गरिएको हो । कोषमा प्रदेश २ सरकारले २५ करोड राख्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको तर्फबाट २५ करोडको राहतकोषको स्थापना गर्ने र सो कोषमा सम्पूर्ण मन्त्रीहरुको एक महिनाको तलब राख्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले बताएका छन् । राहत कोषमा अन्य संघसंस्था तथा व्यक्तिले पनि रकम जम्मा गर्न सक्छन् । लकडाउनका कारण विपन्न वर्गलाई राहत प्रदान गरिने समेत निर्णय भएको छ ।

बैठकले कोरोना भाइरुसको महामारी नियन्त्रणका लागि मुख्यमन्त्रीको संयोजकत्वमा सबै मन्त्री रहने गरि उच्चस्तरीय निर्देशन समिति गठन गरेको छ । आवश्यक व्यवस्थापन गर्न निमित्त प्रमुख सचिव नारायण दवाडीको संयोजकत्वमा सबै मन्त्रालयका सचिव रहने गरि विशेष कार्यकारी समिति समेत गठन गरेको छ । समितिलाई व्यवस्थापनको आवश्यक निर्देशन समेत दिएको छ ।

समितिले आवश्यक सामग्रीहरुको खरिद विशेष परिस्थितिको लागि व्यवस्था गरिएको खरिद नियमावली बमोजिम गर्न पाउने छ ।
कोरोना संक्रमण भए नभएको चेकजाँच गर्न प्रादेशिक अस्पताल जनकपुर, विरगंज र राजविराजमा ल्याबको स्थापना गर्ने निर्णय समेत भएको मन्त्री यादवले जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot