काठमाडौं, १३ चैत्र । राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिले कोभिड–१९ नियन्त्रका लागि अहिले भएका स्वास्थ्य संस्थाको विस्तार, स्वास्थ्यकर्मीलाई महामारीविरुद्ध तालीमको व्यवस्था, आवश्यक नयाँ ठाउँमा स्वास्थ्य सेवा केन्द्रको स्थापना गर्न सरकारलाई सुझाव दिएको छ ।
समितिका सभापति तारादेवी भट्टले आज प्रेस विज्ञप्ति जारी गरी समुदायस्तरमै सङ्क्रमित र शंकास्पद घटनाको खोजी गरी आवश्यक प्रणाली बनाएर उचित व्यवस्थापन गर्न सरकारलाई सुझाव दिनुभएको हो ।
“समुदायस्तरमै स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गरी आवश्यक सामग्री उपलब्ध गराउनुका साथै कोरोना परीक्षणको व्यवस्थापन यथाशीघ्र गर्नुपर्ने र क्वारेन्टनइनका लागि स्पष्ट योजना र प्रक्रियाको सुनिश्चितता गर्नुपर्ने देखिन्छ”, विज्ञप्तिमा भनिएको छ ।
समितिले देशभरीका सबै सरकारी र निजी स्वास्थ्य सेवा केन्द्रको पहिचान गरी त्यस्ता सेवा केन्द्रलाई क्षमता र आवश्यक सामग्री उपलब्ध गराएर घटना व्यवस्थापन र उपचार सेवा दिन पनि आग्रह गरेको छ । file photo