काठमाडौं, १३ चैत्र । राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि लकडाउनका समयमा नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन आग्रह गरेको छ ।
आयोगले आज जारी गरेको प्रेस विज्ञप्तिमा लकडाउनको अवस्थामा घरमै रहेका अपाङ्गता भएका बालबालिका, ज्येष्ठ नागरिक, महिला तथा अतिविपन्नका लागि आवश्यक पर्ने दैनिक उपभोग्य सामग्री उपलब्ध गराउन आग्रह गरिएको छ ।
आयोगले उपचारका क्रममा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी र तिनका परिवारको स्वास्थ्य सुरक्षाको विशेष व्यवस्था गर्न आग्रह गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको रोग फैलिन नदिन सरकारले लकडाउन गरेको कार्यलाई सकारात्मक रुपमा लिँदै आयोगले विषम परिस्थितिमा नागरिकप्रति सरकार जिम्मेवार हुनुपर्नेमा जोड दिएको छ ।