Logo

सुदूरपश्चिममा अनौठो हल्ला, कोरोनाबाट बच्न राती आगन खन्नुहोस र पाईएको कोइलाको टिका लगाउनुहोस्



काठमाडौं, चैत १४ । कोइलाको टिका लगाए कोरोना भाइरस नलाग्ने भन्दै सुदूरपश्चिममा यतिबेला व्यापक रुपमा अनौठो हल्ला फैलिएको छ ।

सुदूरपश्चिमका अधिकांश जिल्लाहरुमा विहिबार मध्येरातीदेखि घरको मूल दैलोमा खन्दा कोइला जस्तो देखिने कालो वस्तु भेटिने र त्यसको तिलक (टीका) बनाएर लाएमा विश्वव्यापी सङ्क्रमण भईरहेको कोरोना भाईरस नलाग्ने भन्दै सबैले त्यहि गरिरहेका छन् ।

शुक्रबार बिहानै देखि यो हल्लाका आधारमा मानिसहरु दैलो खन्दैछन् । कोहि तिलक लगाएर हिंडिरहेको पनि पाईएको त्यहाँका स्थानियहरुले समाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

बिहान साढे ८ बजेको समयसम्म पनि मानिसहरु आ–आफ्नो मूल ढोकामा खनिरहेका दृष्य सजिलै देखिएका छन् । खनेको ठाउँमा कोइला निस्किरहेको पनि देखिएको छ ।

तर यो हल्ला कहाँबाट शुरु भयो भन्ने विषय पत्ता लाग्न सकेको छैन ।डोटीको जोरायल गाउँपालिका वडा नं। ३ बेल्टुक्रा घर भई कैलालीमा एक सँस्थागत विद्यालयमा कार्यरत शिक्षक तीर्थराज भट्टले यस्तो खबर आफन्तहरुबाट आफुलाई राती १ बजेको समयमा आएको र यसको सत्यतथ्य पत्ता लगाई सन्देश फैलाई दिन पत्रकारहरुलाई अनुरोध गर्दै फेसबुकमा स्टाटस समेत राखेका छन् ।

उनको स्टाटसको कमेन्टमा सुदूरपश्चिमका विभिन्न जिल्लाका मानिसहरुले पनि सोहि कुरा आफुहरु कहाँ पनि आएको र भनिए बमोजिम दैलोमा कालो वस्तु भेटिएको जनाइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot