Logo

लेकसाइड र बगरमा छरियो ‘डिसइन्फेक्सन स्प्रे’



पोखरा, १४ चैत्र । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन पोखरा महानगरपालिकाले नगरका विभिन्न ठाउँमा कीटनाशक औषधि डिसइन्फेक्सन स्प्रे छर्कने अभियानलाई तीव्र बनाएको छ । महानगरको न्यूरोडस्थित कार्यालयबाट कीटनाशक औषधि छर्न शुरु गरेको महानगरले शुक्रबार जिरोकिमीदेखि हल्लनचोक, लेकसाइड हुँदै शहीदचोकसम्मको सडकमा कीटनाशक औषधि छर्केको हो ।

लेकसाइड क्षेत्रमा कीटनाशक औषधि छर्न दमकल प्रयोग गरिएको थियो । त्यसैगरी हरिचोक, सिम्पानी, ट्याक्सीचोक, क्याम्पसगेट, शिक्षा कार्यालयचोकलगायतका ठाउँमा कीटनाशक औषधि छरिएको स्वास्थ्य महाशाखाका सिनियर अहेब अधिकृत हरिलाल आचार्यले जानकारी दिए ।

उनका अनुसार विशेषगरी भीडभाड हुने गरेका स्थान, ओसिलो र घाम नलाग्ने ठाउँमा कीटनाशक औषधि छरिएको महानगरपालिकाले जनाएको छ । बिहीबार पोखराको चिप्लेढुङ्गा क्षेत्रमा पनि औषधि छरिएको हो । महानगरका प्रमुख मानबहादुर जिसीले महानगर क्षेत्रका भीडभाड हुने ठाउँ, अस्पताल, सेवाग्राही बढी आउने सरकारी कार्यालय, चौतारालगायत सडकका ओसिलो र घाम नलाग्ने ठाउँमा कीटनाशक औषधि छरिने बताउनुभयो । सरकारले थालेको कोरोना रोकथाम र नियन्त्रणको अभियानमा सघाउन नगरवासीलाई अनुरोध गर्दै उहाँले महानगरका विभिन्न स्थानमा समेत कीटनाशक औषधि छरिने जानकारी दिए ।

कोरोना भाइरसको सङ्क्रमणलाई फैलिन नदिन महानगरले थालेको कोरोना रोकथाम अभियानअन्तर्गत बिहीबार कीटनाशक औषधि छर्कने कामको शुभारम्भ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र महानगरका प्रमुख मानबहादुर जिसीले गरेका थिए । रासस



प्रतिक्रिया दिनुहोस्