Logo

प्राधिकरणले ऊर्जा उद्यमीलाई तत्काल बिल भुक्तानी नगर्ने



काठमाडौ, १४ चैेत्र । नेपाल विद्युत् प्राधिकरणले कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने अवस्थालाई मध्यनजर गरी विद्युत् खरिद बिक्री सम्झौताअनुसार बिल भुक्तानी गर्न असमर्थ रहेको जनाएको छ ।

महामारीका कारण विद्युत् खरिद बिक्री सम्झौतामा उल्लेख भएको काबु बाहिरको परिस्थिति उत्पन्न भएकाले सञ्चालनमा रहेका निजी क्षेत्रका ऊर्जा उद्यमीलाई पछि भुक्तानी गर्ने भएको हो ।

प्राधिकरणले एक सूचनामार्फत काबु बाहिरको परिस्थिति उत्पन्न भएकाले सञ्चालनमा रहेका विद्युत् आयोजनाको मिटर रिडिङ, मासिक बिल भुक्तानी तथा सोसम्बन्धी अन्य कार्य समयमा गर्न नसकिएको जनाएको छ । प्राधिकरणले सूचनामा भनेको छ, “काबु बाहिरको परिस्थितिका कारण दायित्व पूरा गर्न नसकिएको मानिने र क्षतिपूर्ति वा हर्जाना बुझाउनु नपर्ने व्यवस्था आकर्षित हुनेछ । ”

प्राधिकरणले आफूसँग विद्युत् खरिद सम्झौता गरेका सम्पूर्ण प्रवद्र्धक कम्पनीलाई यस अवस्थाको बारेमा जानकारी नै भएको जनाएको छ । प्राधिकरणले यसबाट प्रवद्र्धक कम्पनीलाई पर्न गएको असुविधाप्रति क्षमासमेत मागेको छ । प्राधिकरणले साना तथा ठूला गरी झन्डै १०० आयोजनासँग विद्युत् खरिद सम्झौता गरेको छ । रासस



प्रतिक्रिया दिनुहोस्