Logo

मालिकामा बीस लाखको आकस्मिक कोष



म्याग्दी, १४ चैत्र । कोभिड –१९ को सम्भावित जोखिम नियन्त्रण तथा रोकथाम गर्न मालिका गाउपालिकाले बीस लाखको आकस्मिक कोष स्थापना गरेको छ ।
रोकोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि बिहीबार बसेको पालिका स्तरीय विपद् व्यवस्थापन समितिको बैठकले सो कोष स्थापना गरेको अध्यक्ष श्रीप्रसाद रोकाले जानकारी दिए ।

दरवाङको छ्यारछ्यारे स्थित जनप्रिय माध्यामिक विद्यालयको भवनमा ८ श्ययाको क्षमताको आइसुलेसन सहितको अस्थाई अस्पताल बनाइएको छ । विभिन्न वडामा सचेतनामुलक कार्यक्रम, माइकीङ, विदेशबाट पछिल्लो समय गाउँ फर्किएकाको लगत सङकलन गरिएको उपाध्यक्ष खरमाया बिटालुले बताए ।

उनका अनुसार बागलुङको तमानखोलाबाट मालिका गाउपालिकामा आउने जाने बाटोमा पर्ने सोलेडाडामा अस्थाई चेक पोष्ट स्थापना गरिएको छ । शंकास्पद बिरामीहरुको उपचारका लागि दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सकलाई तयारी अवस्थामा राखिएको छ । ८ सेट व्यक्तिगत सुरक्षाका सामग्रीको समेत व्यवस्थापन गरिएको छ ।

यसैगरी जिल्ला विपद् ब्यवस्थापन समितिले सम्भावित कोरोना रोकथामको कामलाई थप प्रभावकारी र व्यवस्थित बनाउन रु ५ लाख विनियोजन गरेको छ । बेनी अस्पताल, कोरोना विशेष अस्थाई अस्पतालका लागि आवश्यक सामग्री खरिद तथा सञ्चालनका लागि समितिको कोषबाट रकम बिनियोजन गरेको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए । अस्पतालमा सम्भावित कोरोनाका बिरामीको उपचारका लागि आवश्यक पर्ने सामग्री खरिद तथा व्यवस्थापन गर्न रकम बिनियोजन गरिएको उनले बताए ।

समितिले बिनियोजन गरेको रकम अपुग भएमा बेनी नगरपालिकाले रु।पाँच लाख र रघुगंगा गाउपालिकाले रु २ लाख पचास हजार उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् । यसअघि ५ लाख रुपैयाँ बिनियोजन गरेको प्रदेश सरकारले प्रत्येक जिल्लामा थप ५ लाख पठाउने जनाएको छ ।

यसैगरी कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि भएको गतिबिधिको दैनिक समीक्षा र रिपोटिङ गर्न प्रजिअकै अध्यक्षतामा कमाण्ड पोष्ट गठन गरिएको छ । पोष्टमा सुरक्षा निकायका प्रमुख, स्थानीय तह, अस्पताल, स्वास्थ्य कार्यालय, उद्योग वाणिज्य संघ र रेडक्रसका प्रतिनिधि रहेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्