Logo

महामारीको बेलामा सरकार कस्तो बन्ने सोच्न समेत हुन्न, विपन्नलाई तत्काल राहत दिइहाल्नुपर्छ- सुजाता कोइराला



काठमाडौं, १४ चैत्र । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले अहिले राजनीति गर्ने बेला नभएको भन्दै सरकार कस्तो बन्नेबारे सोच्न समेत नहुने बताएकी छिन् । विश्वसँगै नेपाल पनि कोरोना भाइरसको महामारीसँग जुधिरहेको अवस्थामा राजनीति गर्न नहुने बताइन् ।

रिपोर्टर्स नेपालसँगको कुराकानीमा कोइरालाले सबै राजनीतिक दल, चिकित्सक, सुरक्षाकर्मी, पत्रकार, बुद्धिजीवीका अलावा आम नेपाली जनता मिलेर महामारीसँग जुध्ने बेला भएको बताइन् । कोइरालाले भनिन्, ‘यो सरकार कस्तो बनाउने भन्ने सोच्ने बेला पनि होइन, मिलेर महामारीलाई पराजित गर्ने बेला हो ।’

प्रमुख प्रतिपक्षी दलका रुपमा नेपाली काँग्रेसले पनि सरकारलाई यो बेलामा सहयोग गर्ने उनको भनाई थियो । सरकारको कमी कमजोरी औल्याउने र आवश्यक सरसल्लाह दिने बताइन् । उनले भनिन्, सरकारले तत्काल जनतालाई राहत दिन ढिलाई गर्न हुँदैन । श्रमिक र ज्यालादारीको हितमा सरकारले विशेष राहत प्याकेज ल्याउन ढिलाई गरेको टिप्पणी गरिन् । विपन्न आर्थिक अवस्था र दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्नेका लागि कम्तिमा दैनिक एक सय रुपैयाँ, दाल चामल र ग्याँस निःशुलक दिनुपर्ने बताइन् । लकडाउन अनिवार्य भएको भन्दै त्यसका कारण दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्नेहरुको चुल्हो निभ्न दिन नहुने बताइन् ।

कोइरालाले सबै नेपाली एकजुट भएर कोरोना भाइरसको महामारीसँग जुधेमा जीत हासिल हुने बताइन् । नेपाली जनतामा विपत्तिको समयमा एकता झन् बलियो हुने गरेको स्मरण गराउँदै अहिलेको संकटमा झन् एकता बलियो हुने विश्वास व्यक्त गरिन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्