काठमाडौं, १४ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् । गएराति मुटुमा समस्या भएर महाराजगञ्जस्थित मनमोहन कार्डियोलोजी अस्पतालमा भर्ना भएका उनी साँझ डिस्चार्ज भएका हुन् ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले डिस्चार्ज भएको जानकारी दिए । उनले प्रधानमन्त्री ओली स्वास्थ्यलाभ हासिल गरी फर्केको बताउँदै उपचारमा संलग्न चिकित्सकहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।
२१ फागुनमा दोस्रो पटक मृगौला प्रत्यारोपणपछि तंग्रिदै गरेका प्रधानमन्त्री ओलीको मुटुको चालमा समस्या भएपछि अस्पताल लगिएको थियो । ओली पछिल्लो समय सक्रिय हुन थालेका छन् । उनलाई चिकित्सकले कम्तिमा केही महिना आराम गर्न सल्लाह दिएपनि धपेडी बढेको छ । –File Photo