Logo

नेपालमा कोरोनाका चार संक्रमित को को हुन्



काठमाडौं, १४ चैत्र । नेपालमा अहिलेसम्म कोरोना भाइरसका संक्रमितको संख्या चार पुगेको छ । आज अर्का संक्रमित धनगढीमा भेटिएपछि संख्या बढेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार चौंथो संक्रमित सेती प्रादेशिक अस्पतालमा उपचारका लागि ११ चैत्रमा भर्ना भएका थिए । उनको स्वाबको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा पोजेटिभ भेटिएको थियो ।

पछिल्लो संक्रमित भेटिएसँगै यसै हप्ता दुईजना संक्रमित थपिएका छन् । चौंथा संक्रमित धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार गराउने क्रममा संक्रमित भएको पत्ता लागेको हो । उनी ३४ वर्षका छन् र उपचार भइरहेको छ । संक्रमित व्यक्ति दुबईबाट वैदेशिक रोजगारीबाट फर्किएका हुन् । उनी नेपालमा को को सँग सम्पर्कमा रहे त्यसबारे अनुसन्धान शुरु भइसकेको बुझिएको छ ।

कोरोना भाइरसका पहिलो व्यक्ति चीनमा अध्ययन गर्ने विद्यार्थी थिए । उनी चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि फर्किएका थिए । परीक्षणका क्रममा संक्रमित भेटिएका उनी आइशोलेशनमा बसेका थिए । उनी स्वस्थ भइसकेका छन् ।

नेपालगञ्ज स्थायी घर भएका पहिलो संक्रमित अहिले स्वस्थ भई सामान्य जीवनयापनमा फर्किइसकेका छन् । उनी संक्रमित भएको डेढ महिनासम्म कोही संक्रमित नभएको तथ्यांक आयो । तर, यसै हप्ता लगातार दुईजना संक्रमित भेटिएका छन् ।

दोस्रो संक्रमित १९ वर्षीया किशोरी हुन् । उनी फ्रान्सबाट नेपाल आएकी थिइन् । कतारको दोहा हुँदै नेपाल आएकी उनी परीक्षणका लागि टेकु अस्पताल पुगेकी थिइन् । भियतनामकी आफ्नी रुममेटलाई कोरोना संक्रमण भएको जानकारी पाएपछि उनी परीक्षणका लागि पुगेका थिइन् । उनको परीक्षणमा कोरोना भाइरसको सक्रमण भेटिएको थियो । अहिले उनी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेकी छिन् ।

तेस्रो व्यक्तिलाई कोरोना भाइरसको संक्रमण भएको बुधबार पुष्टि भएको हो । उनी ६ चैत्रमा दुबईबाट आएका थिए । वैदेशिक रोजगारीमा गएका उनी धादिङ स्थायी घर भएका ३२ वर्षीय पुरुष हुन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १० चैत्रमा भर्ना भएका थिए । उनको परीक्षणको रिपोर्ट १२ चैत्रमा आउँदा संक्रमण भेटिएको थियो ।

संक्रमित मध्ये १९ वर्षीया किशोरीको अवस्था सामान्य भइसकेको टेकु अस्पतालले जनाएको छ । आउँदो हप्ता उनी डिस्चार्ज हुने सम्भावना रहेको अस्पतालले जनाएको छ । तेस्रो व्यक्तिको पनि ज्वरो कम भएको र सामान्य खोकी मात्र रहेको अस्पतालले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot