काठमाडौं, चैत १५ । विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरस विरुद्ध लड्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रबीच साझा रणनीति बनेपनि त्यस अनुरुप सहकार्य अन्यौलमा परेको छ।
सार्क सहकार्य यतिबेला दुईपक्षीय सहकार्यको रुपमा अघि बढाउने विषयमा छलफल भइरहेको परराष्ट्र उच्चस्रोतले बताएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको प्रस्ताव आरम्भमा पाकिस्तानले स्वीकार गरेपनि साझा कोष सार्क सचिवालय मार्फत ल्याउनु पर्ने भनेपछि सहकार्यमा अन्यौल आएको हो।
पाकिस्तानले क्षेत्रीय सहयोगका लागि सार्क महत्वपूर्ण मञ्च बनाउनु पर्ने तर कुनै मुलुक मातहत नभै सचिवालय अन्तर्गत राखेर नै साझा पहल गर्नुपर्नेमा जोड दिएपछि अन्यौल देखिएको हो।
भारत आफैंले ठूलो रकम एक करोड अमेरिकी डलरको कोष तय गरेको र उक्त कोषमा सबै सदस्य राष्ट्रले रकम थप गरेर सहकार्य गर्ने सहमति भएको थियो। तर, पाकिस्तानले उक्त कोष सचिवालयमार्फत ल्याउन पर्ने अडान राखेपछि साझा कोषमा सार्कस्तरीय सहकार्य अघि बढ्न नसकेको आजको अन्नपूर्ण पोस्ट्मा खवर छ ।