काठमाडौं, चैत १५ । सरकारले सुरु गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा शुक्रबारसम्म १५ करोड ३१ लाख तीन हजार दुई सय २२ रुपैयाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार विभिन्न व्यक्ति, संघसंस्था एवं प्रतिष्ठानबाट सो रकम जम्मा भएको रकम जम्मा हुने क्रम जारी रहेको जानकारी दिए।
कोरोना भाइरसको जोखिम नेपालमा पनि बढेपछि सरकारले हालै कोष खडा गरेको हो। सो कोषमा एनसेलले १० करोड, कृषि विकास बैंकले एक करोड २५ लाख, भाटभाटेनी सुपर मार्केटले एक करोड, नेपाली कांग्रेसले ५० लाख, एनइबिएलले एक करोड, नेपाल स्वास्थ्य व्यवसायी महासंघले पाँच लाख १० हजार, हेटौंडा स्कुल अफ म्यानेजमेन्टले १० लाख, राधा माधव समितिले १५ लाख रुपैयाँलगायत विभिन्न व्यक्ति तथा संघसंस्थाले सहयोग गरेका छन्।
गत चैत ९ गते मन्त्रिपरिषद् बैठकले कोषमा प्रधानमन्त्री र मन्त्रीहरूको एक÷एक महिनाको तलब जम्मा गर्ने निर्णय गरिसकेको छ। कोषमा राष्ट्रपतिले दुई महिना, सभामुख र राष्ट्रिय सभाका अध्यक्षले एक महिनाको तलब र सांसद एवं कर्मचारीले समेत योगदान गरिरहेका छन्।नागरिक दैनिकबाट