चिप्लेढुङ्गा, १५ चैत : कोरोना भाइरसको संक्रमण फैलन नदिन पोखरा महानगरपालिकाले नगरका विभिन्न ठाउँमा कीटनाशक औषधि (डिसइन्फेक्सन स्प्रे) छर्केने कार्यलाई तीव्रता दिएको छ । बिहीबारदेखि महानगरको न्युरोडस्थित कार्यालयबाट औषधि छर्न शुरु गरेको महानगरले शुक्रबार जिरोकिमीदेखि हल्लनचोक, लेकसाइड हुँदै शहीदचोकसम्मको सडकमा औषधि छर्केको स्वास्थ्य महाशाखाका सिनियर अहेव अधिकृत हरिलाल आचार्यले जानकारी दिए ।
लेकसाइड र हरिचोक, सिम्पानी, ट्याक्सीचोक, क्याम्पस गेट, शिक्षा कार्यालयचोक लगायत ठाउँमा औषधि छरिएको आचार्यले बताए । विशेष गरी भीडभाड हुने गरेका स्थान, ओसिलो र घाम नलाग्ने ठाउँमा औषधि छरिएको छ । महानगरका प्रमुख मानबहादुर जिसीले महानगर क्षेत्रका भीडभाड हुने ठाउँ, अस्पताल, सेवाग्राही बढी आउने सरकारी कार्यालय, चौतारालगायत सडकका ओसिलो र घाम नलाग्ने ठाउँमा कीटनाशक औषधि छरिने बताए । प्रमुख जिसीले सरकारले थालेको कोरोना रोकथाम र नियन्त्रणको अभियानमा सघाउन महानगरवासीलाई अनुरोधसमेत गरेका छन्।