Logo

विदेशबाट फर्कनेको तथ्याङ्क सङ्कलन जारी



बेत्रावती, १५ चैत : कोरोना भाइरसको सङ्क्रमण रोक्न नुवाकोटमा विदेशबाट आएकाको लगत सङ्कलन कार्य जारी रहेको छ ।

भाइरसको मिल्दोजुल्दो लक्षण देखिएका र विदेशबाट फर्किएका व्यक्ति राख्न जिल्लामा २३८ श्ययाको क्वारेन्टाइन (एकान्तवास) निर्माण गरिएको छ । शङ्कास्पद व्यक्तिलाई राख्नका लागि जिल्लामा रहेका १२ वटै स्थानीय तहले आवश्यकताको आधारमा एकान्तबास तयार गरेर सञ्चालनमा ल्याएको जनाएका छन् । तत्कालका लागि स्थानीय तहले चारदेखि ७५ श्ययासम्मको एकान्तवास निर्माण गरेको जनाएका छन् भने आवश्यक परेमा पर्याप्त सङ्ख्यामा बढाउन सक्ने तयारी मिलाएको बताएका छन् ।

बेलकोटगढी नगरपालिकाले कामरुदेवी माविमा १० र महादेव माविमा चार गरेर १४ श्यया र विदुर नगरपालिकाले त्रिशूली सामुदायिक अस्पतालमा १० र शैक्षिक तालिम केन्द्रमा २० गरेर ३० श्ययाको एकान्तवास सञ्चालनमा ल्याएको जनाएका छन् ।

तारकेश्वर गाउँपालिकाले सरस्वती आधारभूत विद्यालयमा नौ र गोस्र्याङ स्वास्थ्य चौकीमा १० गरेर १९ श्यया, म्यागङले प्रथामिक स्वास्थ्य चौकी देउरालीमा चार श्यया, किस्पाङले पञ्चलिङ्गे माविमा १० श्यया, सूर्यगढीले बागेश्वरी माविमा सात र हल्देकालिका स्वास्थ्य चौकीमा चार गरेर ११ श्ययाको एकान्तवास निर्माण गरेका छन् ।

शिवपुरी गाउँपालिकाले निर्माणाधीन गाउँपालिकाको कार्यालय भवनमा, भूमेदेवी मावि र कालिका माविमा २५–२५ गरेर ७५ श्यया, ककनीले ब्राइटर बोर्डिङ स्कूलमा १० श्यया र पञ्चकन्याले घ्याङश्वारा गेष्टहाउसमा पाँच श्ययाको एकान्तवास निर्माण गरी सञ्चालनमा ल्याएको जनाएका छन् । दुप्चेश्वर गाउँपालिकाले सरस्वती मावि हुङमा १०, नमूना एकीकृत बस्ती शिखरवेँसीमा २० गरेर ३० श्ययाको एकान्तवास निर्माण गरिएको र आवश्यक परेमा समुन्द्रटार स्वास्थ्य चौकीमा थप १० श्यया निर्माणको तयारी मिलाएको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिए।

तादी गाउँपालिकाले खरानीटार अस्पतालमा १० र अमरज्योति माविमा खरानीटारमा १० गरेर २० श्यया र लिखुले थानसिंहको अमिलेबोटेमा १० श्ययाको एकान्तवास निर्माण गरेर सञ्चालनमा ल्याएको जनाएका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा एकान्तवास सञ्चालनमा ल्याउन स्थानीय तहले जनाएको प्रतिबद्धताअनरुप आवश्यकतानुसार सबैले निर्माण गरेर सञ्चालनमा ल्याएको प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जानकारी दिए । उनका अनुसार विदेशबाट फर्किएका व्यक्ति होम क्वारेन्टाइनमा बस्न अटेर गरेकाले उनीलाई विदुर नपाले तयार गरेको शैक्षिक तालिम केन्द्रमा राखिएको छ । विदेशबाट फर्किएकामध्ये अन्य ७१ जना आफ्नै निवासको एकान्तवास बसेका छन् । विदेशबाट फर्कनेको तथ्याङ्क सङ्कलन कार्य जारी गरेकाले यो सङ्ख्या बढ्ने अनुमान छ ।रासस



प्रतिक्रिया दिनुहोस्