Logo

नेपालमा कोरोना संक्रमितको नाम किन गोप्य राखियो



काठमाडौं, १५ चैत्र । नेपालमा कोरोना भाइरसबाट पाँचजना संक्रमित भइसकेको तथ्यांक छ । स्वास्थ्य मन्त्रालयले पाँचजना संक्रमित भएकोमध्ये एकजनाको उपचारपछि नीको भइरहेको र चारजना उपचाररत भएको जनाइसकेको छ ।

पहिलो संक्रमित ९ माघमा पत्ता लागेका थिए । त्यसयता लामो समय संक्रमित नभेटिएपनि यसै हप्ता थप चार जना संक्रमित भेटिएका छन् । अहिलेसम्म संक्रमितहरुको उमेर, यात्रा विवरण र जिल्लाबारे खुलाइएपनि नाम र घर रहेको टोलको नाम खुलाइएको छैन ।

स्वास्थ्य मन्त्रालयले भय सृजना हुने र संक्रमितको व्यक्तिगत गोपनीयतालाई समेत दृष्टिगत गरी नाम नखुलाएको बुझिएको छ । तर, संक्रमितले चाहेमा परिचय खुलाउन भने कुनै बन्देज लाग्दैन ।

विदेशमा चर्चित व्यक्तिहरुले आफूलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी गराएका छन् । बेलायती राजकुमार चाल्र्सले आफ्ना प्रवक्तामार्फत् जानकारी दिएका छन् । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आफै कोरोना भाइरसको संक्रमणबारे भिडियो सन्देश दिएर खुलाएका थिए ।

विश्वचर्चित खेलाडीहरुले पनि आफू कोरोना भाइरस संक्रमित भएको खुलासा गरेका थिए । बेलायतमा बसोबार गर्ने नेपाली महिलाले पनि कोरोना संक्रमणबारे आफै परिचय खुलाएकी थिइन् ।

कोरोना संक्रमणका कारण विदेशमा मृत्यु हुने नेपालीहरुको पनि परिचय खुलाइएको थियो । भगवती रानाभाट उपचारपछि स्वस्थ भई घर फर्किइसकेकी छिन् ।

संक्रमितले चाहेमा खुलाउन सक्ने भएपनि नेपालमा पाँचैजनाले आफ्नोबारेमा गोपनीयता कायम राख्न चाहेको बुझिएको छ । उनीहरुले संक्रमणमुक्त भएपछि पनि परिचय खुलाउन चाहने हो होइन स्पष्ट भएको छैन । संक्रमितमध्ये तीनजना उच्च शिक्षा अध्ययनरत रहेको पुष्टि भएको छ । दुईजना औपचारिक शिक्षा कमै भएका र वैदेशिक रोजगारीमा गएकाहरु भएको खुलेको छ । तर, पाँचैजनाले परिचय खुलाउन नचाहेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot