Logo

तारा एअरसहित यती एअरलाइन्सको आज मात्रै ५ वटा उडान



पोखरा र लुक्लाबाट ७५ जना पर्यटकको  उद्दार

काठमाडौं, १५ चैत । कोभिड १९ को संक्रमणबाट बच्न नेपाल सरकारले उच्च सर्तकता अपनाउँदै ‘नेपाल लकडाउन’ पश्चात् पर्यटकहरु अलपत्र परेपछि यती एअरलाइन्स र यसको भगिनी संस्था तारा एअरले उनीहरुको उद्दार गरी आज काठमाडौं ल्याएको छ । आज मात्रै पोखराबाट २२ जना र लुक्लाबाट ५३ जना गरी जम्मा ७५ जना पर्यटकहरुको उद्दार गरिएको छ ।

१५ जना अमेरिकन नागरिकलाई लुक्लाबाट उद्दार गर्न तारा एअरको विमान तयारी अवस्थामा रहेको छ । मौषमका कारण अहिले लुक्ला एयरपोर्ट बन्द रहेको छ । उद्दार हुने पर्यटकहरुमा पोखराबाट २२ जना र लुक्लाबाट ३९ जना गरी जम्मा ६१ जना जर्मन तथा युरोपियन नागरिक रहेका छन् भने लुक्लाबाटै १४ जना अस्ट्रेलियन नागरिक रहेका छन् ।

काठमाडौंस्थित जर्मनी, अस्टे«लियन र अमेरिकन दूतावासले आफ्ना नागरिकहरुको उद्दारका लागि अनुरोध गरेपछि नागरिक उड्डयन प्राधिकरणसँग अनुमति लिएर नीजि वायुसेवा कम्पनी यती एअरलाइन्स र तारा एअरले पर्यटकहरु उद्दारका लागि विमान आफ्ना विमानहरु पठाएको हो । यती एअरलाइन्सको ७२ सिट क्षमता भएको एटिआर ७२ नाईन एन एएमएए विमान पोखरा पठाइएको थियो भने तारा एअरको १८ सिट क्षमता भएको नाईन एन एलओ ट्वीन ओटर विमान लुक्ला पठाइएको थियो ।

लुक्लाको लागि त्रिभुवन विमानस्थलबाट पहिलो उडान विहान ८ बजे भएको थियो भने दोस्रो १० बजे, तेस्रो ११ र चौथों उडान १२ बजे भएको थियो । त्यस्तै पोखरामा रहेका पर्यटक लिन यती एअरलाइन्सको विमान १२ बजे प्रस्थान गरेको थियो ।

त्यस्तै, हिजो यती एयरलाइन्समार्फत् पोखराबाट ५८ जना युरोपियन तथा स्वीस नागरिकहरुलाई उद्दार गरी काठमाडौं ल्याएको थियो । यसका साथै तारा एअरले चैत १३ गते लुुक्लाबाट १४ जना फ्रान्सेली नागरिक र १४ गते १४ जना अस्ट्रेलियन नागरिक गरी २८ जना पर्यटकहरुलाई लुक्लाबाट उद्दार गरी काठमाडौं ल्याएको थियो । लकडाउन पश्चात् अलपत्र परेका पर्यटकहरुको उद्दारका लागि सम्बन्धित निकायहरुसँग सहकार्य गरी यती एअरलाइन्सले जहाज पठाइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्